पुनःस्थापित संसदको पहिलो बैठकमा दाहाल–नेपाल समूहका सांसद पनि सत्तारुढ दलकै लहरमा बस्ने भएका छन । आधिकारिक रुपमा दल विभाजन भइनसकेकोले नेकपा सांसदहरु पहिले जस्तै सत्तारुढ दलकै एकै लहरमा बस्ने व्यवस्था मिलाईएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
आज प्रतिनिधिसभा बैठक बस्नुअघि पत्रकार सम्मेलन संसद सचिवालयले गरी नेकपाको दुई समूहको छलफल चलिरहेपनि दल विभाजनको औपचारिक पत्र प्राप्त नभएकोले एउटै रोमा बस्ने व्यवस्था मिलाइएको बताएको हो । ‘संसद सञ्चालन कार्यविधि अनुसार अगाडि बढ्छौं ।’ प्रवक्ता पाण्डेले भने ।
‘नेकपाका सांसदहरु पहिले जहाँ–जहाँ बस्नुहुन्थ्यो अहिले पनि त्यही बस्नुहुन्छ । संसदीय दलको नेता र प्रमुख सचेतक फरक–फरक भन्ने जुन आएको छ । हामीले बुझ्दा नेकपा एउटै छ त्यसकारण पहिले जहाँ बस्नुहुन्थ्यो अहिले त्यहीँ बस्नुहुन्छ । छुट्टाछुट्टै कुर्र्सीको व्यवस्थापन गर्ने भन्ने हुँदैन ।’ उनले थपे ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवादका कारण पार्टी भित्रैका दुई समूहले आ आफ्नै ढंगले निर्णय गरि सचिवालयमा पठाएपछि बैठक कसरी सञ्चालन हुने हो भन्ने अन्यौल रहेको बेला सचिवालयले विद्यमान ऐन कार्यविधि अनुसार अघि बढ्ने निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री केपी ओली समूहले प्रमुख सचेतकमा देव गुरुङलाई हटाएर बिशाल भट्टराईलाई नियुक्त गरेको छ भने दाहाल–नेपाल समुहले पनि संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएको छ ।
संसदको हिउँदे अधिवेशनको बैठक आज ४ बजेका लागि बोलाईएको छ । गत असार १८ गते सरकारले अधिवेसन अन्त्य गरेको थियो । त्यसैबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम खारेज गरी १३ दिन भित्र संसदको अधिवेशन बोलाउन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि आईतबार प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।
Leave a Reply