असोज १२ –निर्वाचन आयोगले आजदेखि लागू हुनेगरी आगामी चुनावका लागि आचारसंहिता जारी गरेको छ । संघ र प्रदेशका मन्त्रीहरुलाई चुनावी सभामा सहभागी हुन रोक लगाएको आचारसंहितामा चुनाव प्रभावित पार्नेगरी मतदातालाई दबाब वा प्रभाव दिन नहुने लगाएतका व्यवस्था उल्लेख गरिएको छ ।
मंसीरमा हुने आमचुनावका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । बुधबार मध्यरातदेखि लागू हुने आचारसंहिताअनुसार राजनीतिक दलले मतदाता प्रभावित पार्नेगरी कुनै दबाब वा प्रभाव दिन नहुने उल्लेख छ । कर्मचारीको सरुवा र बढुवा, मन्त्री र कर्मचारीको विदेश भ्रमण लगाएतमा समेत निर्वाचन आयोगले रोक लगाएको छ । आयोगले जारी गरेको आचारसंहिताअनुसार राजनीतिक दललाई समेत ६० बुँदे निर्देशन दिइएको छ । आयोगले सरकार र सरकारी निकायसँगै सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्थालाई आचारसंहिता लाग्ने बताएको छ । उम्मेदवारको हकमा मनोनयन दर्ता भएको मितिसम्म आचारसंहिता लागू हुने बताएको छ ।
निर्वाचन आयोगले लागू गरेको आचारसंहिताअनुसार सरकारमा रहेका मन्त्रीहरुलाई चुनाव प्रचार प्रसारमा सहभागी हुन रोक लगाइएको छ । संघ र प्रदेशको सरकारमा रहेकाहरुलाई चुनावी सभामा समेत सहभागी हुन आयोगले रोक लगाएको छ । तर दलका नेताहरु भने मन्त्रीलाई चुनावी सभामै सहभागी हुन रोक लगाउने निर्वाचन आचारसंहिता कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।
यसअघि आयोगले आगामी चुनावका लागि आचारसंहिता लागू गर्नुपूर्व सबै राजनीतिक दलका नेताहरुसँग छलफल समेत गरेको थियो । छलफलका क्रममा समेत नेताहरुले मन्त्रीलाई प्रचार प्रसारमा रोक लगाउने व्यवस्था नराख्न आग्रह गरेका थिए ।
Leave a Reply