असोज २३ –काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा त्रिपक्षीय भीडन्त हुने देखिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका नेता प्रदीप पौडेल र युवाहरुबीच लोकप्रिय रञ्जु दर्शनाबीच प्रतिस्पर्धा हुने भएको हो ।
आइतबार मनोनयन दर्ता गराएपछि पोखरेलले नेकपा एमालेले जनताको हीतका लागि काम गरेकाले चुनाव जित्नेमा विश्वस्त रहेको बताए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता पोखरेलले नेकपा एमालेले गत ५ वर्षमा जनताको प्रतिष्ठामा आँच आउने कुनै काम नगरेको भन्दै जनतासँग पार्टीका विचार बोकेर जाने बताए ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ५ बाट नै सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता पौडेलले संघीय राजधानी, राजधानी जस्तो नभएकाले राजधानी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले सुशासन कायम गर्ने, भ्रष्टाचार शुन्य गर्ने, नागरिकको विकासका लागि काम गर्ने प्रतिवद्धता समेत जनाए । नेता पौडेलले गठबन्धनका प्रतिनिधिलाई चुन्दा पछुताउनुपर्ने अवस्था नआउने दाबी गरे ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट नै स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले पनि उम्मेदवारी दिएकी छन् । त्यस्तै कलाकार मधुसुदन पाठकले पनि स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराए ।
Leave a Reply