दैलेखमा रोचक चुनावी माहोलः तीन दशक सहकार्य गरेका थापा र शर्मा भिड्दै

 ग्लोबल टिभि      मङ्लबार, अशोज २५, २०७९      0

असोज २५ –२०७४ को निर्वाचनमा दैलेखका अमरबहादुर थापा र रविन्द्रराज शर्मा चुनावी अभियानमा सँगै थिए । उनीहरू मतदाताबीच सँगसँगै घरदैलो अभियानमा हिँडे, भोट मागे । शर्मा दैलेख क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने थापा सोही क्षेत्रको ‘ख’ बाट प्रदेश सभा सदस्यको वाम गठबन्धनका उम्मेद्वार उनीहरु दुबै विजयी पनि बने ।

शर्मा र थापा यसरी चुनावमा लड्ने क्रम तीन दशकदेखि जारी थियो । २०४८ सालदेखि नेकपा एमालेमा आवद्ध शर्मा र थापा झण्डै २८ वर्ष एउटै पार्टी कमिटीमा रहेर काम गरे ।

२०४८ देखि २०५१ सम्म एमाले दैलेख जिल्ला सचिवको जिम्मेवारी सम्हालेका शर्मा २०५१ को संसदीय चुनावमा उम्मेद्वार बने तर जित्न सकेनन् । त्यो बेला थापा पार्टीको जिल्ला उपसचिव थिए ।

२०५४ मा थापा पार्टी सचिव बने । २०६४ मा पहिलो संविधान सभा निर्वाचनमा उम्मेद्वार बनेका थापा नेपाली कांग्रेसका गणेशबहादुर खड्कासँग पराजित भए । २०६५–२०७० सम्म पार्टीको जिल्ला अध्यक्षमा रहेका थापा २०७० को दोस्रो संविधान सभा निवाचनमा भने निर्वाचित भए ।

तर यसपटक उनीहरूको सहकार्य मात्र टुटेको छैन, एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष समेत रहेका थापा सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका छन् भने शर्मा एमालेका उम्मेद्वार हुन् ।

दैलेख एमालेको बलियो पकट भएको क्षेत्र मानिन्छ । जनाधारका हिसाबले यो क्षेत्रमा एकीकृत समाजवादी कमजोर भए पनि थापाको व्यक्तिगत प्रभाव राम्रो छ र कांग्रेस र माओवादी केन्द्रको साथ पाएका छन् । दुई पूर्व सहकर्मीको चुनावी भिडन्त रोचक हुने देखिन्छ ।

दैलैख–१ मा शक्ति सन्तुलन समेत फेरिएको छ । २०७४ मा शर्माले वाम गठबन्धनको अर्को घटक माओवादीको समर्थन पाएको थियो । शर्मा २३ हजार ७७३ मतसहित विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार दीपकुमार शाहीले भने १७ हजार २ सय ३ मत प्राप्त गरेका थिए । दैलेखमा कांग्रेस र राप्रपाको गठबन्धन थियो ।

अमर थापाले २०७४ मा १२ हजार ५६७ मत सहित प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए । उनले कांग्रेसका जगतजंग थापालाई २ हजार बढी मतान्तरले पराजित गरेका थिए ।

४ मंसिरको चुनावमा काँग्रेस र माओवादी केन्द्र साथ थापालाई छ । थापा स्वयम् तत्कालिन एमालेको प्रभावशाली नेता भएकाले एमालेकै भोट तान्ने उनको रणनीति छ ।

एमाले उम्मेदवार शर्माले भने २०७४ को सहयात्रीहरु गुमाएका छन् । पार्टी फुटको प्रत्यक्ष असर स्थानिय निर्वाचनमा देखिएको छ । थर थापा र शर्मा दुवै आफूले जित्ने दाबी गर्छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *