अमेरिकी सहयोग नियोग प्रमुखसँग अर्थमन्त्री शर्माले गरे भेट

 ग्लोबल टिभि      बिहिबार, अशोज २७, २०७९      0

असोज २७ –विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ ।

युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशिला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गरेका थिए ।

साथै अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गरे । अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलावयु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री शर्माले प्रमुख प्रशासक समान्ता पावरलाई उपयुक्त समयमा नेपाल भ्रमणको हार्दिक निमन्त्रणासमेत गरे ।

यसैगरी पावरले नेपालका अर्थमन्त्रीसँगको भेटघाट फलदायी रहेको, नेपाल अमेरिका साझेदारी र नेपालको प्रजातान्त्रिक अभ्यासको प्रगतिका लागि सहयोग रहने बताइन् । सामाजिक सञ्जालमार्फत पावरले लेखेकी छिन्, “तत्कालका चुनौतीको सामना गर्न दुवै देश मिलेर काम गर्न तयार भएका छौँ ।” यस्ता चुनौती जलवायु परिवर्तन र खाद्य सुरक्षा गरेको युएसएआइडीका प्रमुख प्रशासक समान्ता पावरले उल्लेख गरेकी छिन् ।

नेपालको आर्थिक सामाजिक विकासमा युएसएआइडीको महत्वपूर्ण सहयोग रहेको छ । गत मे महिनामा मात्र उक्त नियोगले आगामी पाँच वर्षका लागि नेपाललाई ६५ करोड ९० लाख डलरको सहयोगको घोषणा गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *