असोज २९ –मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचनमा नवलपुरमा दुई हजार चार सय बढी कर्मचारी खटिने भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए।
निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ जना कर्मचारी परिचालन हुने उनले बताए। जिल्लामा एक सय १३ मतदानस्थल र तीन सय दुई मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी परिचालन गरिने छ । दुई सय ५० सम्म मतदाता भएका केन्द्रमा छ जना र त्यसभन्दा धेरै मतदाता भएमा आठ जना कर्मचारी खटाउने योजनाअनुसार जिल्लाभर दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिने निर्वाचन कार्यालय प्रमुख भुसालले बताए । नवलपुरमा दुई सय ५० भन्दा कम मतदाता भएको मतदान केन्द्र नरहेको उनले बताए। दुई सय ५१ भन्दा धेरै मतदाता भएको केन्द्रमा आठ जना कर्मचारी परिचालन गरिने र आवश्यक परे मतदान अधिकृतले स्वयंसेवक खटाउन सक्ने उनले बताए ।
निर्वाचनमा परिचालन गरिने कर्मचारी जिल्लाका सरकारी कार्यालय, शिक्षकलगायतबाट पूरा गरिने उनले जिल्ला निर्वाचन कार्यालय प्रमुख भुसालले बताए। यसबाहेक नवलपुरमा दुईवटासम्म अस्थायी मतदान केन्द्र हुने कार्यालय प्रमुख भुसालले बताए । जिल्लामा रहेका सुरक्षाकर्मी, कर्मचारीका लागि बढीमा दुईवटासम्म अस्थायी मतदान केन्द्र निर्माणका विषयमा छलफल भइरहेको तर अझै टुङ्गो भने नलागेको उनको भनाइ छ । अस्थायी मतदान केन्द्रबाट सङ्घीय समानुपातिकतर्फमात्रै मतदान गर्न सकिने छ ।
दुई सङ्घीय निर्वाचन र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल मतदाता दुई लाख ६० हजार चार सय ६२ छन् । जसमा पुरुष एक लाख २४ हजार तीन सय ३६ र महिला मतदाताको सङ्ख्या एक लाख ३६ हजार एक सय २१ छन् । सङ्घीय निर्वाचन क्षेत्र नं १ मा कुल मतदाता एक लाख ३१ हजार एक सय ८१ छन् । क्षेत्र नं २ मा एक लाख २९ हजार दुई सय ८० मतदाता छन् ।
Leave a Reply