असोज २९ –नेकपा माओवादी केन्द्रका कुल २१ पदाधिकारीमध्ये आधा पदाधिकारी पनि चुनावमा उम्मेदवार भएका छैनन् । पार्टीका २१ पदाधिकारीमध्ये १० जना मात्रै उम्मेदवार भएका छन् भने ११ जना प्रदेश र प्रतिनिधि दुवै सभाका उम्मेदवार छैनन् ।
माओवादीले गत वर्षको पुस ११ गते महाधिवेशन गरेकोमा गत भदौ ४ गते अर्थात् आठ महिनामा पदाधिकारी चयन गरेको थियो । आठ महिनापछि पदाधिकारी चयन गरेको माओवादीले पदाधिकारीबाट अध्यक्षसहित जम्मा १० जनालाई मात्रै प्रतिनिधि सभा उम्मेदवार बनाएको छ । अरू ११ जना पदाधिकारी प्रत्यक्ष नसमेटिए पनि हितराज पाण्डे एक जना समानुपातिक सूचीमा समेटिएका छन् ।
पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखा–२ बाट चुनाव लड्ने योजना बनाएका थिए । राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रत्यक्ष चुनाव लड्ने उनको योजना थियो । तर अन्तिममा अध्यक्ष प्रचण्ड आफै चितवन–३ छोडेर गोरखा–२ बाट चुनाव लड्न गएपछि श्रेष्ठ ब्याक भएका हुन् । यस्तै उपाध्यक्ष कृष्णबहादुर महरालाई दाङ–२ बाट चुनाव लड्न पार्टीले आग्रह गरेको थियो । महरा आफै प्रत्यक्ष चुनाव नलड्ने भन्दै समानुपातिकमा बसेका थिए । उनी समानुपातिकमा बसेको भन्दै पार्टीभित्र र बाहिर आलोचना भएपछि समानुपातिक सूचीबाट समेत आफ्नो नाम हटाउन लगाएका थिए ।
पार्टीका ७ जना उपमहासचिवमध्ये हरिबोल गजुरेलले मात्रै टिकट पाएनन् । सिन्धुली–२ बाट माओवादीकै राजन दाहाल उम्मेदवार भएकाले उनी उम्मेदवार हुन पाएनन् । आफूलाई टिकट नदिइ राजन दाहाललाई दिएको भन्दै गजुरेल प्रचण्डसँग असन्तुष्ट छन् ।
Leave a Reply