रामेछापमा कांग्रेसका कान्छाराम र एमालेका कैलाशबीच महाभिडन्त

 ग्लोबल टिभि      आइतवार, अशोज ३०, २०७९      0

असोज ३० –रामेछापमा पाँच जना स्वतन्त्र उम्मेदवार सहित मंसिर ४ मा हुन लागेको निर्वाचनमा प्रतिनिधिसभातर्फ २२ जना उम्मेदवार छन् । सत्ता गठबन्धन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले साझा उम्मेदवार उठाएका छन् । गठबन्धनका साझा उम्मेदवार हुन् नेपाली कांग्रेसका ५७ वर्षीय पुर्ण बहादुर तामाङ ‘कान्छाराम’ ।

गठबन्धनलाई टक्कर दिन मैदानमा उत्रिएका छन्, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६२ वर्षीय कैलाश प्रसाद ढुंगेल । राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल बहादुर घिसिङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट देव शंकर पौडेल, नेपाल मजदुर किसान पार्टीका हरिकृष्ण श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका ३३ वर्षीय रमेश महतेसहित २२ जना निर्वाचनको मैदानमा छन् ।

उम्मेदवार को संख्या धेरै भएपनि प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवार कान्छाराम र एमालेका उम्मेदवार कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुने छ । तामाङ २०७४ मा पनि निर्वाचन लडेका थिए । त्यतिबेला ३५ हजार ७ सय ७१ मत ल्याएका उनलाई नेकपा माओवादी केन्द्रका श्याम कुमार श्रेष्ठ ‘कुशल’ले पराजित गरे । तर, अहिले माओवादी केन्द्र उनकै साथमा छ ।

स्थानीय तहको मतभारको आधारमा माओवादी केन्द्र र कांग्रेसका साझा उम्मेदवार तामाङलाई सहज देखिन्छ । तर, स्थानीय तहको चुनावमा गठबन्धनको मतभार धेरै देखिएपनि अहिले परिस्थिति बदलिएको ढुंगेलको दाबी छ । रातोपाटीसँग कुरा गर्दै ढुंगेलले भने–‘पछिल्लो ६ महिना यताको राजनितिक परिदृश्य र घटनाले सो मतभारलाई चिर्न सक्छ भन्ने मलाइ लाग्छ ।’

पूर्व सांसद देव शंकर पौडेल पनि चुनावको मैदानमा छन् । नेकपा (एमाले) छाडेर एकीकृत समाजवादीबाट चुनाव लडेका ६२ वर्षीय पौडेल रामेछापमा इमान्दार छवि बनाएका राजनीतिज्ञ हुन् । उनले ढुंगेलकै भोट काट्नेछन् ।

चुनावको मैदानमा कैलाश र कान्छाराम मात्र छैनन् । स्वतन्त्र सहित २२ जना प्रतिनिधिसभा निर्वाचनको मोर्चामा छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *