कात्तिक १ –गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एकमात्र उडान पनि जजिरा एयरवेजले रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जनाएको छ । जजिराले यसलाई यात्रुको कमी नदेखाई ‘अप्रेशन रिजन’ भनेको छ ।
वैदेशिक रोजगार विभागले बुटवलमा श्रम कार्यालय राखेको छ । जहाँबाट संस्थागत श्रम स्वीकृतिमात्र प्रदान गरिन्छ । यदि व्यक्तिगत श्रम स्वीकृति लिनुपरेको खण्डमा काठमाडौं नै धाउनुपर्ने बाध्यता छ ।
विभागले बुटवल श्रम कार्यालयबाट विमानस्थलमा हेल्प डेक्स राखेको छ । ‘यहाँ एउटा हेल्प डेक्स जस्तो राखेको छ । श्रम स्वीकृति लिएको/नलिएको चेक गर्छन् । स्वास्थ्य परीक्षण यहाँबाट हुँदैन । कागजपत्रमा धेरै काम त काठमाडौंमै हुन्छ,’ प्रवक्ता झाले भने ।
वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले श्रम कार्यालय खुलेको भएपनि सबै सेवा दिन नसकिरहेको बताए । ‘श्रम कार्यालय बुटवलमा थियो । त्यहीँका कर्मचारीहरू लगेर एयरपोर्ट छेउबाटै हुनुप¥यो भनेर भैरहवामा राखिएको छ । त्यहीँबाट श्रम स्वीकृति लिए÷नलिएको चेक हुन्छ,’ महानिर्देशक आचार्यले भने ।
विभागले अहिले दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाका श्रम कार्यालयलाई व्यवस्थित बनाउने प्रयास थालेको छ । सोही आधारमा विभागले अहिले कर्मचारीहरूलाई आईटीसम्बन्धी तालिम दिनेदेखि लिएर भौतिक पूर्वाधार विकास गर्नेसम्मको काम गरिरहेको छ ।
विभागले मेन पावर व्यवसायीलाई शाखा कार्यालय खोल्न पनि अनुमति दिएको छ । त्यसका लागि आवेदन आह्वान गरेको छ । अबको केही दिनमा उनीहरूलाई शाखा कार्यालय खोल्न अनुमति दिइने उनले बताए ।
‘शाखा खोल्नका लागि थुप्रैले आवेदन पेस गरेका छन् । उनीहरूलाई स्वीकृति दिएपछि मात्रै सेवा दिन थाल्छन् । अबको केही दिनभित्रमा त्यो काम पनि हुन्छ,’ महानिर्देशक आचार्यले भने, ‘अनुमति पाएपछि त काठमाडौं नै आउनुपर्छ भन्ने छैन । शाखा कार्यालयबाटै वैदेशिक रोजगारका लागि अप्लाई गर्न सकिन्छ ।’
विमानस्थलले श्रम कार्यालयमात्र नभई विदेश जान चाहनेका लागि आवश्यक पर्ने सम्पूर्ण कार्यालय स्थापनाका लागि सरकारसँग माग गरेको छ । ‘हामीले आवश्यक कार्यालय स्थापनाका लागि पत्र लेखेका छौं । सबै व्यवस्था नहुँदासम्म यात्रु पाउन समस्या हुन्छ,’ विमानस्थलका प्रवक्ता झाले भने ।
तत्कालीन श्रममन्त्री किसान श्रेष्ठले भैरहवामा श्रम कार्यालय स्थापना गरेका थिए । त्यो कार्यालयबाट अहिले राम्रोसँग काम नभइरहेको स्थानीयको गुनासो छ । त्यो बेला मन्त्री श्रेष्ठले चर्चाकै लागि कार्यालय स्थापना गरेको तर त्यसले सेवा प्रदान गर्न नसकिरहेको स्थानीयको भनाइ छ ।
सम्पूर्ण कार्यालय स्थापना गर्न सरकारलाई पटकपटक पत्र पठाइएको तर कुनै सुनुवाइ नभएको उनको गुनासो छ । भैरहवा क्षेत्रका स्थानीय तथा सरोकारवाला निकायहरूले समेत आवश्यक कार्यालय स्थापनाका लागि सरकारसँग माग गर्दै आएका छन् ।
Leave a Reply