लालकुमार मोक्तान । सर्वोच्च अदालतले (फागुन २३) नेपाल कम्युनिष्ट पार्टी नेकपा बारे फैसला सुनाएको भोलीपल्ट पेरिसडाँडामा माओवादी केन्द्रसँग अन्तिम बैठक बसेर विदा भएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच अझै सम्वाद भएको छैन । अदालतको फैसलाका कारण बाध्य भएर एउटै पार्टीमा बस्नु परे पनि दुबै पक्षले अझै सम्वादका लागि तदारुकता समेत देखाएका छैनन् ।
बरु दुवै पक्ष एक अर्कालाई निषेध गरेर अघि वढ्ने मानसिकतामा देखिन्छन् । ओलीले बालुवाटार र नेपालले बानेश्वर स्थित एक होटलमा निरन्तर आफु पक्षधरहरुसँग छलफल चलाइरहेका छन् । ओली पक्षले नेपाल समूहका भिम रावल, रामकुमारी झाँकी लगायत केहि नेतालाई अनुशासनको कारवाही गर्नु पर्नेमा जोड दिदै आएको छ । सुदुरपश्चिम प्रदेशको संयोजकमा ओली पक्षका लेखराज भट्ट र नेपाल पक्षका भिम रावल मध्ये कसले आधिकारिकता पाउने भन्ने रस्साकस्सी नै छ । यही बिषयलाई लिएर स्थानीय तहमा दुई पक्षका कार्यकर्ता भिडन्तमै उत्रिए ।
विवाद समाधानको मुख्य जिम्मेवारी अध्यक्षको काँधमा भएपनि नेपाल पक्षलाई झन कमजोर बनाएर शक्तिशाली बन्ने रणनीतिमा ओली देखिन्छन् । महासचिव ईश्वर पोखरेलले गत मंगलवार स्थायी कमिटि बोलाउन सचिवालय बैठक डाके पनि अध्यक्ष ओलीको ठाडो निर्देशनमा स्थगित भएको थियो । यसवाट पनि ओली तत्काल नेपाल पक्षसँग सम्वाद गर्ने मानसिकतामा नरहेको देखिन्छ ।
प्रधानमन्त्री विरुद्ध लागेर नेपाल पक्षले गलत काम गरेको ओली पक्षको बुझाइ छ । ओली पक्षका नेता खिमलाल भट्टराईले भने ‘आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न खोजेर माधव कमरेडले ठुलो गल्ती गर्नुभयो । आइन्दा उहाँबाट त्यस्तो गल्ती दोहोरिदैन भन्ने हामीलाई लागेको छ ।’ अर्को तर्फ नेपाल समूह ओलीसंग कसरी प्रस्तुुत हुने भन्ने विषयमा निरन्तर छलफलमा छ ।
नवौँ महाधिवेशनको परिणाम अनुरुपका पार्टी संरचना ब्युँताउने रणनीति नेपाल समुहको छ । अब बस्ने स्थायी र केन्द्रीय कमिटी बैठक अगावै नेपाल समूहले सबै तहमा (केन्द्रीय कमिटी, संसदीय दल, प्रदेश, जिल्ला, गाउँ र नगर) पूर्ववत् संगठनलाई क्रियाशिल पार्ने प्रयास थालेको छ । त्यसक्रममा नेपाल समूहले सोमबारबाटै क्रमशः स्थायी समिति, सांसद, केन्द्रीय सदस्यहरूको निरन्तर भेला गरिरहेको छ ।
सर्वोच्च अदालतको पछिल्लो फैसला पछि पार्टीलाई एकताबद्ध बनाउन सकिने सम्भावना बारे वरिष्ठ नेता नेपाल र झलनाथ खनालले केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेको स्थायी कमिटि सदस्य भिम रावले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको एकल निर्णयबाट विघटन भएको संसद अदालतको आदेशबाट ब्युँतिएकाले मनोबल कमजोर पार्नुपर्ने कुनै कारण नरहेको नेपालको बुझाइ छ । ओलीको व्यक्तिवादी चरित्र विरुद्ध पार्टी भित्रै आन्तरिक संघर्ष चलाएर अघि वढ्ने रणनीति यो पक्षका नेताहरुको छ ।
एमालेको नवौँ महाधिवेशनबाट १४ जना पदाधिकारीसहित एक सय ८५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएका थिए । महाधिवेशनपछि मनोनीतसँगै दुई सय जनाको केन्द्रीय कमिटीमा नेपाल पक्षमा ९० जना स्पष्ट खुलेका छन् । १४ मध्ये पदाधिकारी आधा नेपाल पक्षका छन् । नेकपा बनेपछि वरिष्ठ नेता झलनाथ खनालको साथ नेपाल पक्षलाई छ भने उपाध्यक्ष वामदेव गौतम भने अहिले तटस्थ भूमिकामा छन् ।
६५ सदस्यीय पोलिटब्युरोमा ओली–नेपाल पक्ष हाराहारीमा छ । जिल्ला कमिटीको बहुमत नेतृत्व नेपाल पक्षको छ भने २२ जनवर्गीय संगठनको नेतृत्वमध्ये अधिकांश ओली पक्षमा छन् ।
Leave a Reply