काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताउनुभएको छ ।
शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफुहरुको मुख्य ध्येय रहेको बताउनुभएको हो । यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको पनि जानकारी दिनु भयो । उहाँले भन्नुभयो – ‘नेपाली कांग्रेस पर्ख र हेर अवस्थामा छ । आजपनि मधेशी पार्टीहरुसँग छलफलको क्रम चलिरहेको छ । अहिले हाम्रो मुख्य ध्येय के हो भने ओली सरकारलाई हटाएर एउटा नयाँ सरकारको गठन गर्नुपर्छ । जसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने मनशाय हाम्रो छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्नेमा जोड दिनुभयो । नेता थापाले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि नेपाली कांग्रेस आउनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने म्याण्डेड पाएको भएपनि संकटको बेलामा कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको थापाको भनाई छ । सर्वोच्च अदालतको फैसला नेकपाले स्वीकार गरिसकेपछि नेकपाले सरकार चलाउन पाएको म्याण्डेड सकिएको उल्लेख गर्दै नेता थापाले संसदमा सरकार चलाउने माण्डेड पाएको पार्टी नरहेको टिप्पणी गर्नुभयो । नेपाली कांग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकाश दिनुपर्ने उहाँको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कायमै राखे राज्यका सम्पूर्ण संयन्त्रलाई दबाब र प्रभावमा पारेर कब्जा गर्ने र प्रजातन्त्रलाई कमजोर बनाउने उहाँको भनाई छ । प्रधानमन्त्री ओलीलाई शासन सत्ता दिइराख्नाले नेपालमा नाम मात्रैको चुनाव गराउने नेता थापाले बताउनुभयो ।
Leave a Reply