दलहरुका आर्थिक एजेण्डा, कागजमा मात्रै कि कार्यान्वयनमा पनि?

 ग्लोबल टिभि      सोमवार, कार्तिक १४, २०७९      0

कात्तिक १४ –नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपा पार्टीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रको एजेण्डा सार्वजनिक गरेका छन् । सोमवार तीन राजनीतिक पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने प्रतिवद्धता जाहेर गरेका हुन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सोमबार घोषणा पत्र सार्वजनिक गरेका छन् । तीन वटै पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा आर्थिक ऐजेण्डामा कृषि, रोजगारी र संरचनागत सुधार गरी अर्थतन्त्र बलियो बनाउने उल्लेख छ् । नेकपा माओवादी केन्द्रको घोषणापत्रमा वित्तिय संघियता पूर्णरुपमा कार्यान्वयन गरी सातै प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको आर्थिक एकाईको रुपमा विकास गर्ने कुरालाई प्राथमिकता दिइएको छ । घोषणापत्र पढ्दै अध्यक्ष पुष्पकमल दाहालले अबको मुख्य काम भनेको आर्थिक क्रान्ति भएको भन्दै नेपालको आर्थिक समृद्धि र विकासको निम्ति केन्द्रित हुने बताएका छन् ।

मुलुकको व्यापार घाटा कम गर्न राष्ट्रिय व्यापार प्रतिष्ठान,रोजगार निर्माणका लागि राष्ट्रिय रोजगार प्राधिकरण,राष्ट्रिय गौरवका कायोजनाका पुँजीगत खर्च वृद्धि गर्न राष्ट्रिय विकास आयोजना प्राधिकरण गठन गर्ने दाहालको भनाई छ । साथै वैदेशिक सैन्य गठबन्धन नगर्ने, दुई अंकको आर्थिक वृद्धि गर्ने,कृषि र किसानलाई केन्द्रबिन्दुमा राख्ने,कृषि योग्य जमिन बाँझो राख्ने प्रणालीको अन्त्य गर्ने, सामुहिक कृषि प्रणालीमार्फत कृषि उत्पादन वृद्धि गर्ने कुरा पनि माओवादी केन्द्रले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ

त्यस्तै सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै १२ महिना (वर्षभर) नै कर तिर्ने करदातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने घोषणा गरेको छ । नेकपा एसले घोषणापत्रमार्फत वर्षभर कर तिर्ने करदातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने लगायतका प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै, नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन ल्याउन पहल गर्ने नेकपा एसका महासचिव डा.वेदुराम भुसालले जानकारी दिए ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी ५ वर्षमा रोजगारी र आय–आर्जनका अवसरहरु वृद्धि गरी उपभोग तथा वचत गर्ने र क्षमता वृद्धि गर्ने घोषणा गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी ५ वर्ष भित्र आर्थिक वृद्धि दर ८ प्रतिशत पु¥याउने भन्दै स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई राज्यबाट सुविधा र संरक्षण प्रदान गर्ने, स्वदेशी उत्पादनमा कर घटाइने र सुविधा बढाइने, कच्चा पदार्थ आयात नगरी नहुने अवस्थामा मात्रै आयात भन्सार दर र अन्तःशुल्क कम गरी स्वदेशी उद्योगहरुको उत्पादन क्षमता बढाइने बताएका छन् । प्रत्यक्ष वैदेशिक लगानीकर्तालाई लगानीमैत्री वातावरणमा विश्वस्त तुल्याउन लगानीमैत्री कानूनहरुको निर्माण गर्ने, सार्वजनिक खर्च प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाइ थप मितव्ययी र पारदर्शी बनाउने योजना राप्रपाले ल्याएको उनको भनाई छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन केन्द्रित गरी राजनीतिक दलहरुले आफ्नो पाँच वर्षे घोषणापत्र सार्वनिक गर्ने क्रम जारी रहेको छ । नेपाली कांग्रेसले शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ भने नेकपा एमालेले मंगलबार जारी गर्ने तयारी गरेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *