तातोपानी भन्सारबाट आउन थाल्यो रासायनिक मल (भिडियो सहित)

सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप लगायत पहाडी जिल्लाका किसानलाई लक्षित

 ग्लोबल टिभि      आइतवार, चैत्र १, २०७७      0

नेपालको उत्तरी सीमानाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ ।
रासायनिक मल ल्याउन जिम्मेवारी पाएको सिल्क ट्रान्सपोर्ट कम्पनीले पहिलो पटक उत्तरी नाकाबाट रासायनिक मल भित्रयाएको हो । कुल ४ हजार टन रासायनिक मल ल्याउने तयारी गरिएकोमा फागुन २३ यता २ सय ८० टन युरिया मल भित्रिएको छ ।

चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत् तातोपानीसम्म मल ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले गत फागुन २३ गते पहिलो पटक तातोपानी नाकाबाट रासायनीक मल नेपाल भित्रिएको जानकारी दिए । हरेक दिन ४/५ वटा कन्टेनरमा रासायनिक मल आइरहेको छ । उनले भने,‘आयात गर्दा प्रयोग हुने कन्टेनरको सुविधा राम्रो भए १ महिनामा सबै मल आइसक्नेछ ।’

उत्तरी नाकाबाट पनि रासायनिक मल ल्याउँदा किसानले समयमै सस्तो दरमा मल प्राप्त गर्नेे सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताए । कम्पनीले प्रति मेट्रिकटन करिब २० करोड नेपाली रुपैयाँमा मल ल्याएको हो । चीनबाट ५ दिनमा नाकासम्म र ७ दिन भित्र काठमाडौंसम्म मल ल्याउन सकिने अध्यक्ष शेर्पाको भनाइ छ ।


यता कृषि विकास मन्त्रालयका सहसचिव काञ्चनराज पाण्डेले उत्तरी नाकाबाट मल ल्याउँदा किसानलाई प्रतिकेजी २ देखि ३ रुपैयाँ सस्तो पर्ने जानकारी दिए । सुरुमा परीक्षणका लागि ४ हजार टन मात्रै ल्याईएको हो । तातोपानी नाकाबाट भित्रिएको मल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप लगायत पहाडी जिल्लाका किसानलाई लक्षित गरिएको सहसचिव पाण्डेको भनाइ छ ।

चीनबाट मल ल्याउन पहिलोपटक साल्ट ट्रेडिङले आव्हान गरेको ग्लोबल टेन्डर मार्फत सिल्कले अनुमति पाएको हो । भारत हुँदै मल ल्याउने विकल्पमा अहिले तातोपानी नाकाबाट पनि मल ल्याउन थालिएको हो ।

कृषि विभागका महानिर्देशक डा. गोविन्दप्रसाद शर्माले भने,‘ किसानले प्रतिकेजी करिब १८ रुपैयाँमा मल खरिद गर्न पाउनेछन् । बंगलादेशबाट जीटुजीमार्फत् मल आयात भइरहेको र तातोपानी नाकाबाट पनि मल आयात सुरु भइसकेकाले आगामी वर्ष किसानलाई मल अभाव हुँदैन ।’

मलको प्रतिबोरा औषत खरिद मूल्य २ हजार ३ सय २२ रहेको छ । १ हजार ४ सय ३३ रुपैयाँ ७७ पैसा अनुदान सहित काठमाडौं, बनेपा, बिदुरका किसानले प्रतिबोरा ८ सय ८८ रुपैयाँमा मल खरिद गर्न पाउनेछन् । भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रुपमा सञ्चालनमा आएको हो । नाकाबाट दैनिक १४ कन्टेनर सामान पनि आयात भइरहेको छ । अहिले सबैभन्दा बढी मल आयात भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *