नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल लाई चयन गरेको छ । आज सिंहदरबारथित संसदीय दलको कार्यालयमा बसेको बैठकले पुष्पकमल दाहाललाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामा माग समेत गरेको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि निर्णय गरेको छ ।
संसदीय दलको बैठकले पार्टी छाडेका २ जना राष्ट्रिय सभा सदस्य र ४ जना प्रतिनिधि सभा सदस्यहरुलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको पनि सांसद पुनले बताए ।
पार्टी परित्याग गरेका सांसदहरु सँग अन्तिम छलफल गर्नका लागि मंगलबार नै नेकपा(माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुनको ३ सदस्यीय समिति बनाएको र समितिले प्रत्यक्ष भेटेर छलफल गर्ने पनि सांसद पुनले जानकारी गराए ।
Leave a Reply