निर्वाचन पछिको प्रधानमन्त्री राजेन्द्र लिङ्देनः राप्रपा नेता पौडेल

 ग्लोबल टिभि           0

कात्तिक २८ –अब मुलुकको प्रधानमन्त्री पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन बन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उद्धव पौडेलले दाबी गरेका छन्।

पुराना शक्तिमा मतदाताको भरोसा टुटेको र नयाँ समूहसँग विश्वास पैदा भइनसकेको अवस्थामा आगामी निर्वाचनबाट पार्टीले चामत्कारिक परिणाम ल्याउने र पार्टी अध्यक्ष लिङ्देन मुलुकको प्रधानमन्त्री बन्ने उनको भनाइ छ।

राप्रपाले शासकीय स्वरूप, शिक्षा, स्वास्थ्य, न्याय, रोजगारी सिर्जना, पूर्वाधार निर्माण, विकास, समृद्धि जस्ता विषयमा जनता सामु भरपर्दो विकल्पअगाडि सारेको छ। इतिहासको सम्मान, धर्म, संस्कृति, परम्पराको संरक्षण राप्रपाले गर्छ। जनताले एजेन्डा मन पराएका छन्, राप्रपाको कार्यसम्पादन समितिका सदस्य पौडेलले भने।

विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भने, यो निर्वाचनमा सिंगो देशले नै नेतृत्व परिवर्तन चाहिरहेको अवस्था छ। आम जनसमुदायले राजेन्द्र लिङ्देनको नेतृत्व देख्न चाहिरहेका छन्।

लिङ्देनले राप्रपाभित्र नेतृत्व परिवर्तनका लागि गरेको संघर्ष र सफलताबाट स्थानीय तहको निर्वाचन र आगामी निर्वाचनका लागि युवा उम्मेदवारीको आकर्षण बढेको उनको दाबी छ।

आगामी संसदमा राप्रपा हस्तक्षेपकारी शक्तिको रूपमा आउने छ। राप्रपा सत्ता हैन, मुद्दा केन्द्रित बन्छ, उनले भने, सरकारको नेतृत्व गर्ने अवसर आउँदा जनमतको सम्मान गर्दै राप्रपा सरकारमा जान्छ र नेतृत्व गर्छ। त्यही भएकाले उच्च मनोबलका साथ चुनावमा होमिएका छौँ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *