सत्तारुढ दल एमालेको संसदीय दलको बैठक आज बस्दै, नेपाल – खनाल समूहले बहिस्कार गर्ने

 ग्लोबल टिभि      बिहिबार, चैत्र ५, २०७७      0

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

बिहान करिब ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एमालेको नेपाल – खनाल समूहले संस्थापन पक्षलाई चुनौती दिँदै राष्ट्रिय भेला गरेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले बैठक डाकेका हुन् ।

सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा उपस्थित हुन मोबाइलमा म्यासेज गरिएको प्रमुख सचेतक भट्टराईले बताए ।

फागुन ११ को सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित भएको प्रतिनिधिसभा बैठक शोक प्रस्ताव मात्रै पारित गरेर स्थगित भइरहँदा कसरी प्रस्तुत हुने भन्नेबारे अध्यक्ष ओलीले सांसदहरूलाई आजको बैठकमा निर्देशन दिने भट्टराईले बताए ।

तर एमालेको आजको संसदीय दलको बैठकलाई नेपाल – खनाल पक्षले बहिष्कार गर्ने भएको छ । राष्ट्रिय भेलामा व्यस्त हुनुपर्ने भएको कारण देखाउँदै सो समूहले बैठक बहिष्कार गर्न लागेको हो ।

राष्ट्रिय कार्यकर्ता भेला आज साँझ ५ बजेसम्म चल्ने भएकाले अरू कार्यक्रममा जान नसकिने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ को जेठ २ को अवस्थामा फर्कनु पर्ने अडानमा नेपाल – खनाल समूह छ ।

ओलीले फागुन २८ मा गरेको केन्द्रीय कमिटी पुनर्गठन, नेताहरूको जिम्मेवारी हेरफेरलगायतका निर्णय सच्चिनु पर्ने बताउँदै आएको छ । तर, त्यसका लागि नेपाल – खनाल समूह बैठकमा सहभागी हुनुपर्ने ओली पक्षको अडान छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *