त्यसपछि बिच्किए प्रचण्ड, सम्झाउँदा मानेनन्

 ग्लोबल टिभि      शनिबार, चैत्र ७, २०७७      0

पार्टी एकीकरणको पक्षमा आफुलाई उभ्याउँदै आएका एमाले उपाध्यक्ष बामदेव गौतम संसदीय दलको बैठकमा सहभागी भए । त्यहाँ उनले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलालाई ऐतिहासिक भने । ‘ऋषिराम कट्टेलको माग अनुरुप मात्रै सर्वोच्चको फैसला आएको भए नेकपा भित्रको कलह साम्य हुने अवस्था आउने थिएन । कम्तिमा फैसलाले एमाले र माओवादी ब्युँताइदियो । तत्कालिन नेकपामा न एकता संभव थियो न त विभाजन नै ।’ उनले भने ।
फैसलाले आफुलाई खुशी बनाएको पनि उनले बताए ।

तत्कालिन माओवादी विद्रोहदेखि नै पुष्पकमल दाहाल नजिक मानिएका गौतम नेकपा भित्रको विवादमा एकताको तेस्रो धार समातेर अघि बढेका थिए । यद्यपी, पार्टीभित्र उनको यो धार कमजोर हुँदै गएको थियो । सर्वोच्चको निर्णयले एमाले र माओवादी केन्द्र ब्युँताएपछि पनि उनी एमालेभित्रको कुनैपनि गुटमा सहभागी भएनन् । शनिबार वालुवाटार संसदीय दलको बैठकमा उपस्थित गौतमले फागुन २३ को अदालतको फैसलाबाट खुसी भएर स्वागत गरेको बताए ।

गौतमले सम्बोधनका क्रममा पुष ४ मा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ताको पनि कुरा उप्काए । र भने ‘पुस ४ गते प्रधानमन्त्री र प्रचण्डको वार्तामा साक्षी थिएँ । त्यो बेला प्रधानमन्त्रीले दुईवटा प्रस्ताव गर्नुभयो । १९ बुँदे आरोपपत्र फिर्ता लिने र मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने ।’ यसमा आफुले निकै सम्झाएपनि प्रचण्डले नमानेको उनले बैठकमा बताए । ‘मैले धेरै सम्झाउन खोजें, उहाँले मान्नु भएन । मैले पार्टी एकता कुनै हालतमा जोगाउनुपर्छ भनें,’ उनले भने । संसद पुनस्र्थापना गर्ने सर्वोच्चको फैसलापछि आफुले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाएको पनि उनले सम्झिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *