मंसिर ९— मोरङ निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धन दलतर्फबाट कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई प्रतिनिधिसभा सदस्यमा पराजित गर्दै नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।
कोइरालालाई १ हजार २०८ मत अन्तरले पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । पोखरेल ३३ हजार १४८ मत ल्याइ विजयी भएका हुन् । पराजित भएकी कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छन् । सुजाताका पिता समेत रहेका स्व गिरिजाप्रसाद कोइराला यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्री भएका थिए ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पाखरेल यसअघि २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । पोखरेल २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए । कांग्रेसले यसपटक रिजाललाई टिकट नदिएर सुजातालाई अगाडि सारेको थियो ।
Leave a Reply