अभिषेक –निर्वाचन आयोगले मतगणना शुरु भएका सबै जिल्लाको अन्तिम मतपरिणाम सोमबारसम्म आइसक्ने जानकारी दिएको छ । बाजुरा, स्याङ्जा र दोलखाबाहेकका सबै जिल्लाको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको आयोगले जनाएको हो । पछिल्लो परिणाम अनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले भने दोस्रो दल बनेको छ ।
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावको अन्तिम मतपरिणाम सोमबार बेलुकासम्म आउने भएको छ । निर्वाचन आयोगका अनुसार मतगणना शुरु भएका ७४ जिल्लाको गणना अन्तिम चरणमा पुगेको छ । आयोगको तथ्याङ्कअनुसार आइतबारसम्म नेपाली कांग्रेस पहिलो दलका रुपमा देखिएको छ । त्यस्तै नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो, नेकपा एकीकृत समाजवादीचौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात÷सात स्थानमा विजयी भएर पाँचौ स्थानमा रहेका छन् । स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् ।बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइतबार साँझ वा सोमबारसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
हाल प्रत्यक्षसँगै समानुपातिकको पनि मतगणना जारी रहेकाले उक्त तीन जिल्लाबाहेकको सबै मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने आयोगले जानकारी दिएको छ । बाजुरा स्याङ्जा र दोलखाको परिणाम आउन भने केही समय लाग्ने आयोगले जनाएको छ ।
बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आवश्यक निर्णय गरी यथाशीघ्र सबै मतपरिणाम आइसक्ने आयोगको दाबी छ । अन्तिम मतपरिणाम प्राप्त भएपछि त्यसको सम्पूर्ण विवरण आयोगले राष्ट्रपतिलाई बुझाउने कानुनी प्रावधान छ ।
Leave a Reply