मतगणनाको परिणाम आउने क्रम अन्तिम चरणमा, दोलखाका १० केन्द्रमा पुनः मतदान गराउने !

 ग्लोबल टिभि      सोमवार, मंसिर १२, २०७९      0

मंसिर १२ –प्रतिनिधि सभाको १६५ क्षेत्रमध्ये १५७ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४२ स्थानमा जित हासिल गरेको छ । यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन् । बाँकी रहेका क्षेत्रमध्ये दोलखा, स्याङ्जा–२ र बाजुराको मत गणना भने हुन बाँकी छ । यस्तै समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगल जनाएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो र नेकपा माओवादी चौथो स्थानमा रहेको छन् ।।

दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । मंसिर ४ गते भएको निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिका–६का वैत्यश्वर मावि केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माविको पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे केन्द्रका क र ख गरी ७ केन्द्रको निर्वाचन रद्द गर्दै निर्वाचन पुनः मतदान गर्ने निर्णय गरेको हो । त्यस्तै, वैत्यश्वर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र मतदान रद्द गर्ने निर्णय पनि आयोगले गरेको छ । ती स्थानमा यही मंसिर १५ गतेभित्र पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई आयोगले निर्देशन दिएको छ । आयोगको बैठकले ती मतदान केन्द्रमा खटिएका कर्मचारीलाई कारबाहीका लागि आयोगमा विवरण पेस गर्न सचिवालयलाई निर्देशन दिएको छ । वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा एक सय वटा मतपत्र अर्धकट्टीसमेत हराएको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस भएको छ ।

निर्वाचन आयोगले मतगणना शुरु भएका सबै जिल्लाको अन्तिम मतपरिणाम भोलिसम्ममा आइसक्ने जानकारी दिएको छ । बाजुरा, स्याङ्जा र दोलखाबाहेकका सबै जिल्लाको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको आयोगले जनाएको हो । पछिल्लो परिणाम अनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले भने दोस्रो दल बनेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *