निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको भन्दै एमालेले गर्यो १६ जनालाई कारबाही

 ग्लोबल टिभि      आइतवार, मंसिर १८, २०७९      0

मंसिर १८ –पर्सामा मंसिर ४ सम्पन्न निर्वाचनमा लज्जास्पद हार व्यहोेरेपछि नेकपा एमालेका भाँडभैलो मच्चिएको छ। निर्वाचनमा अन्तर्घात गरेर पार्टीका उम्मेदवारहरूलाई हराउने कार्यमा संलग्न रहेको भन्दै एमाले जिल्ला पार्टीका जिल्ला सचिवसहित १६ जनालाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

निर्वाचनको समीक्षा गर्न शनिबार एमाले पर्साको सचिवालय कमिटीको बैठक बसेको थियो। जिल्ला अध्यक्ष जयप्रकाश थारूको अध्यक्षतामा बसेको बैठकले पार्टीमा अन्तर्घात गरेका र बागी उम्मेदवारी दिएकाहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।

कारबाहीमा पर्नेहरूमा एमाले जिल्ला सचिव एवं छिपहरमाइ गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, जिल्ला सदस्यसमेत रहेका छिपहरमाइ गाउँपालिका–५ का वडाध्यक्ष मौजीलाल साह कानु, सखुवा प्रसौनी गाउँपालिका–१ का वडाध्यक्ष वासुदेव महतो थारू रहेका छन्।

यस्तै, ताजदिन अन्सारी, इमरान हुसेन, मञ्जुर आलम, पवन तिवारी, सुभाष साह कानु, वीरेन्द्र साह कानु, मुस्तकिम अन्सारी, रामप्रित महतो थारू, अमानत अन्सारी, नबिजान मियाँलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले पर्साका अध्यक्ष थारूले बताए। मंसिर ४ को निर्वाचनमा पार्टीको निर्णयविपरीत एमाले–जसपाका उम्मेदवारलाई हराउन अन्तर्घात गरेका जिल्ला सचिव गुप्ता १४ जनालाई कारबाही गरी पार्टीबाट निष्कासन गरिएको अध्यक्ष थारूले बताए।

कारबाहीमा परेकामध्ये पालिकाका जनप्रतिनिधिहरू अब पार्टीकै सदस्य नरहेकाले उनीहरूको पद पनि खारेज हुने थारूले बताए। एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय सदस्य एवं जिल्लाका सहइन्चार्ज राजकुमार गुप्ता, केन्द्रीय सदस्य अरविन्द सिंह, केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरू डाक्टर विश्वम्भर शर्मा र विजय सरावगीको पनि सहभागिता रहेको जिल्ला अध्यक्ष थारूले बताए।

मंसिर ४ को निर्वाचनमा जसपासँग गठबन्धन गरेर चुनाव लडेको एमालेले एउटा मात्र प्रतिनिधिसभा सदस्य जितेको छ। पर्सामा चार प्रतिनिधिसभा क्षेत्रमध्ये दुई र आठ प्रदेशसभा क्षेत्रमध्ये चार गरी एमालेका ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। एमालेका ती ६ उम्मेदवारमध्ये पर्सा २ को प्रतिनिधिसभा सदस्यमा राजकुमार गुप्ता मात्रै विजयी भएका छन्। एमाले जिल्ला अध्यक्ष थारूसमेत अरु पाँचै जना भने पराजित भएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *