अर्थतन्त्र लयमा फर्किएको हो ?

आयात निर्यातलाई हेरेर भन्न मिल्दैन्– अर्थविद्

 ग्लोबल टिभि           0

कोरोनाका कारण धरासायी भएको अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ । आयत–निर्यात र बजेट खर्चमा आएको सुधारले अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको सरकारी बुझाई छ । तर, विज्ञ र उद्योगी व्यवसायी भने सरकारी दावी मान्न तयार छैनन् । आयात निर्यातको अवस्थालाई हेरेर मात्रै समग्र अर्थतन्त्रको विश्लेषण गर्न नमिल्ने उनीहरुको भनाई छ । कोरोना संक्रमण र त्यसको नियन्त्रणका लागि गत वर्ष चैत्र ११ देखि लक डाउन गरिएको थियो ।

पूर्ण र आंशिक गरी ८ महिना हाराहारी मुलुक ठप्प रह्यो । उद्योग, व्यवसाय, कल कारखाना लगायत सेवा क्षेत्रसमेत बन्द हुँदा राजश्व संकलन र समग्र आर्थिक वृद्धिमा समेत नराम्रो प्रभाव पर्यो । तर, चालु आर्थिक वर्षको आठ महिना अवधिमा अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएका छन् ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा भएको आयात–निर्यात, सार्वजनिक खर्च, राजश्व असुली लगायतलाई तुलना गर्दा चालु आर्थिक वर्षको आठ महिनामा सुधार देखिएको हो । गत आर्थिक वर्षको पहिलो आठ महिनामा ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पनि ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । आयात बर्षेनी तिव्र दरमा बढ्दै गएको भएपनि लामो समयको लकडाउनका कारण छिमेकी र तेस्रो मुलुकबाट बस्तु आउन नसक्दा वृद्धिदर घटेको देखिएको हो ।

तर, यस अवधिमा निर्यातमा भने सुधार आएको छ । अघिल्लो आर्थिक वर्ष ७४ अर्ब ९० करोड रुपैयाँ बराबरको बस्तु निर्यात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा केही बढेर ८० अर्ब ७७ करोड रुपैयाँ नाघेको छ ।

आयात निर्यातले कुल गार्हस्थ्य उत्पादनमा फरक नपर्ने भएकोले यसैलाई आधार मानेर अहिले नै अर्थतन्त्र लयमा फर्किएको भन्न नमिल्ने अर्थविद् शंकर शर्माको भनाई छ ।पछिल्लो समय अर्थतन्त्र चलायमान हुँदै गएको भने पक्कै हो । तर पनि पर्यटन लगायतका कतिपय क्षेत्र अझै पुरानो लयमा फर्किन सकेको छैनन् । अर्थतन्त्र पूर्ण रुपमा लयमा आउन अझै केही समय लाग्न सक्छ शर्माले भने ।
अर्थमन्त्रीका आर्थिक सल्लाहाकार प्रकाश श्रेष्ठ पनि अर्थतन्त्र पूर्ण लयमा फर्किएको भन्न नमिल्ने बताउँछन् ।

अर्थविद्को जस्तै उद्योगी व्यवसायीको पनि समान बुझाइ छ । नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपध्यक्ष राजेन्द्र मल्लले लक डाउनका कारण बन्द अवस्थामा रहेका कतिपय उद्योगहरु अझै पूर्ण क्षमतामा सञ्चालन आउन नसकेको बताए । अहिले नै अर्थतन्त्रले गति समात्यो भन्न हतारो हुने उनको भनाई छ । कोभिडको दोस्रो लहर रोक्न सके चालु आर्थिक बर्षमा नै अर्थतन्त्रलाई लयमा फर्काउन सकिने मल्लको बुझाइ छ । वैदेशिक रोजगारीबाट प्राप्त हुने आय रेमिट्यान्समा कुनै असर नदेखिएपनि कुल गार्हस्थ्य उत्पादन(जिडीपी)मा भने ठूलो प्रभाव पर्ने उनको अनुमान छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *