अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् । कोरोना संक्रमितको दर बढ्न थालेपछि फेरी लक डाउन हुने होकी भन्ने त्रास सर्वत्र फैलिएको बेला अर्थमन्त्री पौडेलले यसबारेमा स्पष्ट पारेका हुन । उनले आर्थिक सामाजिक क्रियाकलाप पनि नियमित बनाउनुपर्ने भएकाले लक डाउनको संभावना नरहेको बताए ।
स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द गर्ने पक्षमा सरकार नरहेको उनको भनाइ छ । उनले भने,‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अघि बढ्नुपर्छ । आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।’
अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको भन्दै सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको बताए । कोभिड पछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे । कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले बताए ।
Leave a Reply