यस्तो छ स्व. नविन्द्रराज जोशीको राजनीतिक यात्रा

नेता–अभिनेताद्धारा शोक व्यक्त

 ग्लोबल टिभि           0

मस्तिष्कघात भई महिना देखि उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत ५७ वर्षीय जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।भेन्टिलेटरमा राखेर उनको उपचार जारी थियो । शुक्रबार बिहानदेखि नै जोशीको मुटुले काम गर्न छाडेको उपचारमा संलग्न डा राजिव झाले बताए ।

कांग्रेसमा जुझारु नेताको छवि बनाएका जोशी कसैलाई नचिढाउने, शान्त र भद्र स्वभावका थिए । राजधानीमा लोकप्रिय नेतामध्येमा पर्ने जोशीले तीनवटा संसदीय निर्वाचनमा भाग लिएकामा दुई पटक जित र एक पटक हार व्यहोरे ।

को हुन स्व.जोशी

बुवा गजेन्द्रराज जोशी र आमा गीता जोशीबाट २०१८ साल असार ३ गते काठमाडौंमा जन्मिएका थिए । जोशी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरु गरेका थिए । त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिव समेत भएका थिए । उनी नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह–महामन्त्री र महामन्त्री बनेका थिए । जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्ष पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा प्रवेश गरेका थिए ।

नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गरेका जोशी २०४९ सालमा काठमाडौं महानगरको उपमेयर भएका थिए । २०५६ सालमा युवा स्वरोजगारका कार्यकारी उपाध्यक्ष (राज्यमन्त्री सरह) भएका थिए । जोशीले त्यसै बखतमा युवा स्वरोजगारका क्षेत्रमा थुप्रै नीतिगत काम गरेका थिए । जोशीले २०५२ सालमा गणेशमान सिंहको जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोले र गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्र समेत निर्माण गरेका थिए । यो पनि पढ्नुहोस् । काँग्रेस नेता जोशीको निधन

जोशीले २०६४ र ७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका थिए । उनी पहिलो संविधानसभामा नेपाली काँग्रेस प्रवक्ता र सीमा अध्ययन समितिको संयोजक बनेका थिए । दोस्रो संविधानसभामा संविधान जारी भएपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री भएका थिए ।अबको यात्रा आर्थिक समृद्धि भन्दै जोशीको अथक पहलमा २५ वर्षपछि अन्तर्राष्ट्रिय लगानी सम्मेलन नेपालमा आयोजना भएको थियो ।

उद्योग मन्त्री हुँदा जोशीले बन्द उद्योग खोलाउने, उद्यमशीलता युवा, उद्योगको विकास लगायत थुप्रै राम्रो काम गरेका थिए । उद्योग मन्त्री हुँदा जोशीले रुग्ण र बन्द अवस्थामा रहेका आठ वटा उद्योगलाई सञ्चालन गर्ने योजना अगाडि बढाएका थिए । उनका पालामा थुप्रै औद्योगिक अवरोधहरू हटाइ कानुनी सुधार पनि गरिएको थियो ।

दुईपटक पार्टी केन्द्रीय सदस्य बनेका जोशी हाल पनि केन्द्रीय सदस्य थिए । आगामी भदौँ ७–१० का लागि निर्धारित पार्टीको १४ औं महाधिवेशनमा पार्टी महामन्त्रीमा उम्मेदवारी दिने गरी गृहकार्य अगाडि बढाइरहेका थिए । महामन्त्रीको तयारी कै लागि उनी कार्यकर्ता माझ देश दौडाहा निस्कने तयारीमा थिए ।

फागुन १७ गते दोलखाको सदरमुकाम चरिकाटमा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे र सिन्धुली गरी पाँच जिल्लाको युवाहरुको भेला उनकै नेतृत्वको डाकेका थिए । तर, फागुन १४ मा मष्तिष्कघात भएर हस्पिटलाइज भए जोशी संसार बाटै विदा भएका छन् । मिजासिला ,बौद्धिक र क्षमतावान् नेता जोशी नेपाली कांग्रेसमा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित थिए ।

नेता–अभिनेताद्धारा शोक व्यक्त

नेता जोशीको निधनमा विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् । पार्टीका सभापति शेरबहादुर देउवाले जोशीको निधनबाट आफू मर्माहत भएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा जोशीको निधनले कांग्रेसले इमानदार र निष्ठावान् नेता गुमाएको उल्लेख गरेका छन् ।

वरिष्ठ नेता पौडेलले जोशी राजनीतिज्ञ मात्र नभई उच्च सामाजिक भावनाका नेता भएको जनाएका छन् । उनले जोशी आम जनताका ढुकढुकी र लोकप्रिय नेता रहेको बताएका छन् । ‘भरोसायोग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउँदा म पीडा सहन नसक्ने अवस्थामा छु,’ पौडेलले उल्लेख गरेका छन् । जोशीको निधनलाई कांग्रेसका नेता तथा कार्यकर्ताले पत्याउनै नसकिने घटना भनेका छन् ।

कांग्रेस नेता रामहरी खतिवडाले कांग्रेसको एउटा उज्यो चन्द्रमा सदाका लागि अस्ताएको बताएका छन् । उनले, सबै राम्रा मान्छे हाम्रा हुन्न भन्थ्ये, प्रमाणीत भयो’ उल्लेख गरेका छन् । हास्यकलार एवं अभिनेता दीपकराज गिरीले जोशीको योगदानलाई स्मरण गर्दै दुःख व्यक्त गरेका छन् । ‘उहाँ कानपा उपमेयर हुँदा हाम्रो काककुल टोलले उहाँकै पहलमा खानेपानी पाएको थियो । आज आँखा वरपर घुमिरहेछ त्यो भेटघाटका पलहरु’ उनले उल्लेख गरेका छन् ।

एमाले नेता एवं पूर्व मन्त्रीहरु आनन्द पोखरेल, गोकुल बास्कोटा, गाकर्ण विष्ट लगाएतका नेताहरु पनि मुलुकले एक शालिन नेता गुमाएको बताएका छन् ।

फूर्तिलो र खिरिलो शारीरिक बनोटका जोशीलाई मस्तिष्कघात भएको खबर धेरैले विश्वासै गरेका थिएनन् । उनी केही वर्षदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । जोशीको निधनपछि कांग्रेसले शनिबार बिहान आकस्मिक बैठक बोलाएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई बिहान उनकै टोल यट्खा र दिउँसो १२ देखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राख्ने तयारी छ । अन्त्येष्टि भने पशुपति वा देवघाट कहाँ गर्ने भन्ने टुंगो लागेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *