सरोज सिंह थापा । समयभन्दा ठूलो कुरा अरु केहि हुँदैन भन्ने नेपाली उखानसँग अहिले सबैभन्दा बढी मेल खाएका पात्र हुन् –नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले उहाँलाई राजनीतिको किनारामा पुर्याएको छ ।
राजनीतिक ध्रुवीकरणले वरिष्ठ नेता नेपाललाई घाइते बनाएको कुरा उनको भाषणले पनि प्रष्ट पारेको देखिन्छ । तर, राजनीतिका पण्डितहरु भने तत्काल उनको बाटो सरल र सहज नदेखिए पनि बन्दै भने भइनसकेको दाबी गर्छन् ।
अध्यक्ष केपी शर्मा ओलीसँग ४८ वर्षदेखिको सम्बन्ध बिग्रिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल निकट भएका थिए ।
तर, उनको यो निकटता धेरै दिन टिक्न सकेन । नेपाल र दाहाल केही महिना सहयात्रा गर्न नपाउँदै सर्वोच्च अदालतको फागुन २३ को फैसलाले नेकपा एमाले र नेकपा माओवादी एकतापूर्वको अवस्थामा पुर्यायो ।
नेता नेपालको राजनीतिक जीवनमा सर्वोच्चको यो निर्णय कठिन मध्यको एक बन्न पुग्यो । जुन कुराको पुष्टि माओवादी केन्द्रको कार्यलय पेरिषडाँडाबाट बाहिरिदाको मुहारले देखाउथ्यो ।
सामान्य भावनाको हिसाब गर्न नजानेकाहरु समेत उनको मुहारको भावनात्मक गणित सहजै अनुमान गर्न सक्थे । नेकपाको यात्रामा पूर्णबिराम लागेपछि नेपाल यति बेला नेपाली राजनीतिको दोभानमा अड्किएका छन् । सर्वोच्चको फैसलापछि बालुवाटारमा एमालेका धेरै बैठक बसे ।
सुरुवाती बैठकमा ओली निकटका मात्रै सहभागी भएपनि बिस्तारै नेपाल पक्षका विश्वासपात्रहरु बालुवाटार पुग्नु र महासचिव ईश्वर पोखरेलले स्पष्टिकरण सोध्नु नेता नेपाललाई ठूलो टाउको दुखाई बन्न पुग्यो । रुचीबीना नै धुम्बाराही पुगेर ओलीसँग सम्वाद गरेझै गरे पनि उनको झुकाव दाहालतिरै देखिन्छ । जसको पुष्टि नेपाल—दाहालको दैनिक छलफल र ओलीसंग टुटेको सम्वादले गर्छ । यी घट्नाक्रमले ओली र नेपालको सम्बन्ध सुध्रिने संकेत देखिँदैन ।
नेता नेपालका आगामी योजना यस्ता छन् ।
— आफू पक्ष नेता कार्यकर्ताको भावना बुझ्ने ।
— समानान्तर रुपमा पार्टी सञ्चालन गर्ने
— आफू अनुकूल जनवर्गीय संगठन विस्तार
— जेठसम्म एमालेमै रहने
— ओलीले कारबाही गरे, पार्टी फुटाए भनेर कार्यकर्तामाझ जाने
— जेष्ठ ३ गते मदन–आश्रित स्मृति दिवस पारेर नयाँ पार्टी दर्ता गर्ने
नेता नेपालको यो योजनामा निकट भनिएकाहरुले समेत साथ नदिने सम्भावना रहेको यस घटनालाई नजिकबाट नियालीरहेकाहरु बताउछन ।
Leave a Reply