मागेको संख्याभन्दा तेब्बरले भरे म्यादी प्रहरीमा फारम

 ग्लोबल टिभि      शुक्रबार, चैत्र ११, २०७८      0

काठमाडौं । स्थानीय निर्वाचनका लागि सुरक्षामा खटिने म्यादी प्रहरीमा मागेको संख्याभन्दा तेब्बरले फारम भरेका छन् । दरखास्त फारम लिने समय पनि सकिएको छ ।

चैत ६ देखि ११ गतेसम्म दरखास्त फारम लिँदा देशभर २ लाख ८० हजार ४९५ जनाले फारम भरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन आयोगले वैशाख ३० गते स्थानीय निर्वाचनको तयारी गरेसँगै प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीका लागि दरखास्त फारम खुलाएको थियो ।

फारम भरेकाबाट १४ गतेदेखि छनोट सूची प्रकाशनको कार्य सुरू हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताएका छन् । अन्तिम नामावली २६ गतेसम्म प्रकाशन भएर २७ गते नियुक्तिको काम थालिने र त्यही दिनबाट तालिम सुरू हुने केसीले बताए ।

म्यादी प्रहरीका लागि हरेक जिल्ला प्रहरी कार्यालयहरूले फारम लिएका छन् । जिल्लाबाट अन्तिम नामावली प्रकाशन भई नियुक्ति भएपछि सम्बन्धित ठाउँहरूका प्रहरी युनिटहरूमा म्यादी प्रहरीलाई तालिम दिन थालिन्छ ।

प्रधान कार्यालयका अनुसार तालिम एक सातादेखि १० दिनसम्म हुनेछ । म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन पाउने व्यवस्था थियो । म्यादी छनोटमा पूर्वप्रहरी, पूर्वसैनिकलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय फौजी संगठनमा काम गरेका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

त्यसबाहेक मापदण्डभित्र पर्नेहरूलाई समावेश गरिन्छ। म्यादी प्रहरी ४० दिनका लागि नियुक्त हुँदैछन् । ४० दिन खटिँदै तलब–भत्ता–राशनवापत एक जनाले ४३ हजार रुपैयाँसम्म बुझ्छन् ।त्यसपछि हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि छुट्टै आवेदन मागिने प्रधान कार्यालयले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *