कमजोर पूर्वाधारमा टिकेको श्रीनगरको सौन्दर्य

 ग्लोबल टिभि      आइतवार, चैत्र २२, २०७७      0

हरि जि.सी, पाल्पा । सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेपनि पाल्पा तासेनस्थित श्रीनगर डाँडाको पर्यटकीय पूर्वाधारमा सुधार हुन सकेको छैन । सरकारले घोषणा गरेको एक सय नयाँ गन्तव्यस्थलमा पाल्पाको श्रीनगर डाडा पनि रहेको छ । पर्याप्त पूर्वाधार र अन्य तयारीबीना नै पर्यटकीय स्थल घोषणा गरिएको स्थानीयको भनाइ छ ।

बर्षौ अघि जुन अबस्थामा श्रीनगर डाँडा थियो त्यसमा कुनै नयाँ परिवर्तन आएको छैन । भएका पूर्वाधार पनि झन जीर्ण बन्दै गएका छन् । चार बर्ष अघि २ करोड बढी खर्चेर विश्व बैंकको सहयोगमा निर्माण गरिएको बाटो र पिकनिक स्पटसमेत लथालिंग छ । शनिबार पिकननिकका लागि धेरै समूह यहाँ आउने गरेपनि पर्याप्त सुविधा पाउन सकेका छैनन् । व्यवस्थित बन्न सकेको छैन ।

पानीको समस्या, यत्रतत्र फोहोर, पिकनिक स्थल नपाउने जस्ता समस्या रहेको आन्तरिक पर्यटक बताउँछन । स्थानीयबासी रामकृष्ण थापाले स्थानीय सरकारले ध्यान पुर्याउन नसक्दा जे सोचेर पर्यटक श्रीनगर घुम्न आउँछन् वास्तविकता फरक पाउने अनुभव सुनाएको बताउँछन् । कोहलपुरबाट भ्रमणको लागि आएकी बिद्यार्थी सृजना घर्तीमगरको अनुभव पनि यस्तै छ ।

उनी भन्छिन्,‘ श्रीनगरडाँडा एकदमै मनमोहक त छ तर बाटोको समस्याले श्रीनगरको सौन्दर्यलाई छोपेको पनि छ ।’ झण्डै १ हजार ४ सय मिटरको उचाईमा रहेको श्रीनगरडाँडा प्राकृतिकरुपमै सुन्दर छ । यहाँबाट नेपालमै सबैभन्दा भन्दा लामो रेञ्जमा हिम श्रृंखलाको अवलोकन गर्न सकिन्छ ।

यहाँबाट  माछापुच्छ्रे, धौलागिरी, अन्नपुर्ण, निलगिरी लगाएतका हिमश्रृंखलाको आनन्द लिन सकिन्छ ।
यस्ता गन्तव्यले मुलुकको पर्यटकीय विकासमा उल्लेख्य भूमीका खेल्न सक्छन् । तर, यसका लागि पर्याप्त पूर्वाधार विकास हुन जरुरी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *