काठमाडौं–राष्ट्रिय पुस्तकालय भवन पुनर्निर्माण प्राथमिकतामा पर्न नसकेको भन्दै अभियन्ताहरूले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका छन् ।
राष्ट्रिय पुस्तकालयलाई पुरानो बसपार्कको निर्माणाधीन भवनमा सार्न माग गर्दै अभियन्ताहरूले राष्ट्रपति विद्या भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
भूकम्पका कारण क्षति पुगेको राष्ट्रिय पुस्तकालय भवन अहिलेसम्म पुनर्निर्माणको प्राथमिकतामा पर्न सकेको छैन । वि.स. २०७२ सालको भूकम्पले हरिहरभवनमा रहेको राष्ट्रिय पुस्तकालयको भवन जीर्ण भएपछि पुस्तक, ग्रन्थ तथा दस्तावेजहरू नासिन थालेका छन् ।
अभियन्तासँगको भेटमा राष्ट्रपति भण्डारीले राष्ट्रिय पुस्तकालय र पुरानो बसपार्कमा निर्माणाधीन भवनको बारेमा विस्तृत जानकारी लिएकी छन् । राष्ट्रिय पुस्तकालयमा रहेका पुस्तकलाई अस्थाई रूपमा सुरक्षित राख्न तत्काल ठाउँ खोज्न पहल गर्ने आश्वासन दिएको र पुरानो बसपार्कमा निर्माणाधीन भवनलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्नेबारे केन्द्रीय तथा पालिका सरकारसँग छलफल गर्ने उनको भनाई छ ।
राष्ट्रिय पुस्तकालय भवन पुनर्निर्माण हुन नसक्दा पुस्तक र अन्य ऐतिहासिक कागजात ठाउँ अभावमा बोरा–बोरामा कोचेर राखिएको छ । राष्ट्रिय पुस्तकालयको संग्रहमा तीन सय वर्षसम्मका पुराना हस्तलिखित ग्रन्थहरू समेत छन् । तीमध्ये धेरैमा ढुसी र किरा लाग्न थालेको अभियन्ताले गुनासो गरेका छन् ।
Leave a Reply