निबन्ध उडान–समाधि: पुण्य कार्की(शनिबार विशेष साहित्य )

 ग्लोवल टि.भी.      शनिबार, पुस १७, २०७८      0

निबन्ध उडान–समाधि

पुण्य कार्की

सुक्न र संकिर्ण हुन मन छैन मलाई । फुक्न र फैलिन मन छ । पछारिन मन छैन मलाई । उभिन र उचालिन मन छ । जसरी उचालिन्छ आगोको लप्को । जसरी उचालिन्छ दियोको ज्योति । त्यसरी नै गगनपथमा आकासिन मन छ । एउटा सानो माटोको दियो छ । त्यसको ज्योति आकाश ताकेर उठिरहेको छ । दियोको ज्योतिले आकाश ताकेको दृश्य मनमोहक लाग्छ । बाँसको तामा ठिङ्ग उभिएर त्यसको सुइरोले आकाश ताकेको दृश्य अति सुन्दर लाग्छ । मानिसभित्र चेतन ज्योति पनि त्यस्तै छ क्यारे । हमेशा ऊध्र्वतलमै उठ्न खोज्छ । हर्दम त्यसको प्रकाश अनन्ततिर फैलिन खोज्छ ।
अन्तको एक सीमा विन्दु छ । अन्तको एक परिधि रेखा छ । तर, अनन्त भन्ने चिज सीमाहीन छ । परिधिहीनछ । चेतनाको स्वभावपनि सीमाहीन छ । त्यसैले यो सीमारेखावीच खुम्चिएर रहन सक्तैन । यो फुक्न खोज्छ । फैलिन खोज्छ । चेतना त्यस्तो तुच्छ चिजपनि होइन, जो माटो मै मुन्टो गाडेर एकै थलोमा कुँजियोस् । यो त अनन्त आकाशको शक्तिले व्योम–मण्डलतिरै उचालिन्छ ।
बाहिरी जगतका भौतिक पदार्थमा गुरुत्वशक्तिले काम गर्दछ । पदार्थको स्वभाव अनुसार हावामा फ्ँयाकेको वस्तुपनि भूँइतिरै झर्दछ । जमिनको शक्तिले त्यसलाई आफूतिर खिच्तछ । तर, आगोको लप्का मास्तिरै उठ्तछ । दियोको ज्योतिले गगन–पथ खोज्दछ । यसले गुरुत्ववललाई चुनौति दिन्छ र हमेशा आकाशको आँगन ताक्दछ । मान्छेभित्रको चेतन–ज्योतिको स्वभावपनि ठीक त्यस्तै देख्छु म । योपनि भूइँ होइन व्योम ताक्तछ ।
एउटै ठाउँ र विन्दुमा जड–स्थीर बन्न मन छैन मलाई । त्वरित गतिमा हुँइकिन मन छ । उठ्न मन छ । कुद्न मन छ । भाग्न मन छ । जाग्न मन छ । हजारौँ वर्ष अगाडि वेदले भन्यो –सुत्दा आफूसितै सुत्छ भाग्य । उठ्ता आफूसितै उठ्छ भाग्य । दौडिँदा आफूसितै दौडिन्छ भाग्य । त्यसैले मान्छेलाई निरन्तर दौडिराख, निरन्तर हिँडिराख भन्यो शास्त्रले ।
मानिस स्वभावैले ऊध्र्वतलमा यात्रा गर्ने प्राणी हो । ऊ हरहमेशा ऊध्र्वगामी यात्राको पिपासु हुन्छ । त्यही यात्राको अनुगामी बन्न खोज्छ । भित्रको चेतन दियो बलेपछि त्यसको ज्योतिले ऊध्र्वगमन रुचाउँछ । ज्योति अधोगमनतिर जान इन्कार गर्छ । माथि माथि झन माथि जाने आकाँक्षा अप्लावित भैराखेको हुन्छ ।
वेदमा होमा नामको एक पन्छीको सन्दर्भ छ अरे । मिथकले भन्छ – त्यस पन्छीले आकाशमा उडान भर्न थालेपछि त्यसको आँखा अनन्त आकाशको उचाइतिर एकोहोरोरिन्छन् । त्यसपछि उसले जमिन हेर्न भुल्दछ । अनन्त उचाइतिर मात्रै उसको उडान केन्द्रित हुन थाल्दछ ।
उसका आँखाबाट धर्तीको साँगुरो सीमा रेखाले विदा लिन्छ । उसले असीमको यात्रापथ समातिसकेको हुन्छ ।
आकाशको माथि माथि उड्दै जाँदा यति माथि पुग्छ, धर्तीमा रहेको आफ्नो गुँडको सुधबुध समेत हराउँछ । मेरो निवास कुनै रुखको टुप्पोमा थियो भन्ने कुरापनि भुल्दछ । एकोहोरो उडानमा लवलीन हुँदै जाँदा गुँडमा अण्डा पार्ने कुरापनि भुल्दछ । उड्दा उड्दै ऊभित्रको प्रजनन तत्व परिपक्क बनिसक्छ । प्रकृतिको नियम हो भित्री डिम्बाशयमा अण्डा तयार भएपछि त्यो बाहिर निकाल्नै पर्छ ।
उड्दाउड्दै उडानमै अण्डा खसाल्छ । हावामै अण्डा पार्छ । त्यस कुराको पनि ठीकठीक ज्ञान रहँदैन । उसलाई त माथि झन् माथि उड्नुमै आनन्द आइरहेको हुन्छ । ऊ अनन्त आकाश छुन उडिरहेको छ, उडिरहेको छ । उसले पारेको अण्डा यता धर्तीतिर झर्न सुरु हुन्छ । माउलाई अण्डाको कुनै चिन्ता हुन्न । त्यसको कुनै पर्वाह हुन्न ।
माउको उकालो यात्रा जारी छ । उसले खसाएको अण्डाको ओरालो यात्रा जारी छ । आकाशको धेरै माथिको उचाइमा पुगेर अण्डा पारेको हुुँदा ती अण्डा हावामा झर्दाझर्दै एक राप र तापको घर्षणमा पर्दछन् । उचित ताप मिलेपछि बीचमै अण्डा फुट्छ र बच्चा निस्किन्छ । अर्थात् अनन्त आकाशको उचाइबाट झरेको झण्डामा ताप पैदा भएर अण्डा कोरलिन्छन् ।
अण्डाको खोल फुटाएर बाहिर निस्केको बच्चा, जसको शरीरमा भुत्ला पलाएको हुँदैन । प्वाँख पलाएको हुँदैन । अण्डाजस्तै त्यो अवोध बच्चापनि ओरालो खस्न सुरु गर्छ । पृथ्वीको गुरुत्व वलले त्यसलाई भूँइतिरै खिचिरहेको हुन्छ । त्यति माथिबाट झर्दाझर्दै बीचमै उसको शरीरमा प्वाँख पलाउन थाल्छन् । बन्द आँखा खुल्न थाल्छन् । पखेटा निस्किन सुरु हुन्छ ।
सो वखतसम्ममा त्यस बच्चालाई थाहा हुन्छ– आफू धर्तीतिर निरन्तर झर्दैछु भन्ने कुरा । यही गति र रफ्तारमा खसेँ भने म कुनै चट्टानमा बज्रेर चकनाचुर हुनेछ भन्ने कुरा थाहा पाउँछ । सो वखत उसलाई आफ्नो माउको पनि याद आउँछ । मुन्टो र आँखा आकाशतर्फ उठाएर हेर्छ । माथि माथि दूर आकाशमा आफ्ना माउहरु उडेझैँ देख्छ । उसलाई संकटबाट माथि निस्किने प्रेरणा स्फूरण हुन्छ । बल गरेर पखेटा चाल्न सुरु गर्छ । सो घडीसम्म उसका पखेटामा केही प्वाँख पलाइसकेका हुन्छन् । उसले हल्का उडान लाउन सुरु गर्छ । तीव्र वेगमा जमिनतिर हुर्रिएर झरिरहेको बच्चो अब आकाशतिरै आँखा उठाएर उडान भर्न सुरु गर्छ । बच्चाको यो उडान एक माउ भेट्ने लालसाबाट अनुप्रेरित छ । अर्काे धर्तीमा बज्रिनुको जोखिमबाट बँच्न ऊ आकाश ताकेको हुन्छ ।
मिथकले भन्छ– आकाश लोकमा उडान भर्दाभर्दै त्यो बच्चो समयक्रममा वयस्क बन्छ । फेरि उसले अण्डा खसाल्छ । आकाशमार्गबाट झर्दा झर्दै ती अण्डा कोरिलिन्छन् । फेरि बच्चाहरु बीचबाटो बाटै आकाशतिर आँखा उठाएर उडान भर्छन् ।
होमा पन्छीको मीथक मीठो छ । यसले मानिसलाई आकाशमा उचालिनको लागि प्रेरणा भर्दछ । जमिन छोडेर ऊध्र्वतलमा जानको लागि उद्वैलित गर्दछ । चेतन–पंख पलाएपछि मान्छेपनि अधोगामी यात्रा छोड्दछ । ऊध्वर्गामी यात्रामै हिँड्न उत्सुक बन्दछ ।
यतिखेर मेरो सामुन्नेमा तातोपानीको कन्तीबाट फुर्रफुर्र बाफ उठिरहेछ । बाफको उचाइलाई हेर्छु । धुवाँको मुस्लो जस्तो त्यति लामो दूरी त यसले तय गर्न त सक्तैन । वीचमै विलीन भएर हराउँछ । तरपनि बाफले आकाशै ताकेको कुराले म कताकता विमोहित बन्छुु ।
चकोर पन्छीको मीथकपनि मीठो लाग्छ मलाई । चन्द्रचकोर शब्द नै सुन्दर लाग्छ । चकोरपन्छी हमेशा । चन्द्रमालाई चुम्वन गर्न लालायित हुन्छ । चन्द्रमा छ आकाशमा । ऊ छ धर्तीमा । उसले उडेरपनि त्यहाँ पुग्ने सम्भावना नदेखेपछि आगो निल्छ र जल्छ । ऊ पूर्णरुपले खरानी बन्छ । शिवजीले आलो अर्थीको खरानीलाई निधारमा बिगुतको रुपमा दल्ने गर्छन् । यसै सन्दर्भमा एकदिन चकोर पन्छीको जलेको खरानी निधारमा लाउँछन् । शिवजीको निधारमा गंगामात्र छैनन् । त्यहाँ चन्द्रमा पनि छ । चकोरको चन्द्रमासितको मिलन हुन्छ । उसको चाँद भेट्ने अभिप्सा साकार बन्छ ।
घर छेउको कोठेबारीमा टक्क आँखा अड्याउँछु । सिमीको सानो सुइरे लहरो सकी नसकी थाँक्राको झिक्रो पक्रेर आकाशतिरै लाम्किरहेको छ । खेतका डीलमा हेर्छु । भटमास टुसाइरहेका छन् । जमिन छेडेर निस्केका ती कलिला टुसाले समेत अनन्त आकाश ताकिरहेका छन् । बाँस झ्याँङ्ग नियाल्छु बाँसका सुइराले पनि आकाशतिरै उठिरहेका छन् ।
प्रकृतिका अनेकन अवयवहरु आकाशगामी बनिरहेकाछन् । उँचो उँचो उठिरहेका छन् । उच्च तलमा यात्रा गर्न यति खुल्ला र सुगमपथ छ भने म मात्र किन निम्न तलमा यात्रा गरुँ ? फुक्न र फैलिन मलाई सिंगो आकाश खुल्ला छ भने किन जमिनमा मुन्टो गाडेर कुच्रुक्क परुँ ? उडान समाधिमा अण्डा खसाल्ने चराको मिथक जस्तो माथि माथि उड्न चाहन्छु ।
समाप्त

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *