पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेविसंघद्वारा विरोध प्रदर्शन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
नेविसंघले सोमबार दिउँसो बबरमहल स्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरी विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले सबै क्षेत्रमा मूल्य वृद्धि गराउने भन्दै सरकार बजारलाई महाँगो बनाउन उद्दत रहेको बताए । अप्ठेरो परिस्थितीमा जनतालाई राहत दिनुपर्ने सरकारले उल्टै पेट्रोलियम पदार्थको पटकपटक मूल्य बढाएर दुःख दिइरहेको उनले बताए ।
आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको थियो । मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ ।
Leave a Reply