
पुस २६– चुनावअघि एमाले छाडेका वामपन्थी नेता घनश्याम भुसाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न विभिन्न प्रस्ताव अघि सारेका छन् । भुसाल निकट स्रोतका अनुसार आफूले राखेका प्रस्तावमा सकारात्मक जवाफ आए उनी छिटै एकीकृत समाजवादीमा औपचारिक रूपमा प्रवेश गर्नेछन् ।
‘भुसालको प्रस्तावलाई समाजवादीले संस्थागत रूपमा स्वीकार गरेमा एकतामा जानुको विकल्प छैन तर ओली शैली नै कायम राख्ने हो भने सोचिएजस्तो नहुन सक्छ’, भुसालले आफूनिकटस्थहरुलाई भन्ने गरेका छन् । एकीकृत समाजवादीका तर्फबाट वाम एकताका लागि गठित वार्ता समितिका सदस्य समेत रहेका नेता प्रकाश ज्वालाले विभिन्न पार्टी, व्यक्ति र समूहसँग एकताको प्रयास भइरहेको भन्दै भुसालसँग पनि छलफल जारी रहेको प्रतिक्रिया दिए ।
‘विभिन्न पार्टी र व्यक्तिहरूसँग एकताका लागि छलफल जारी छ । भुसाल कमरेडसँग पनि वार्ताकै क्रममा छौ’, नेता ज्वालाले रातोपाटीसँग भने,‘ पार्टी प्रवेश गर्ने मिति नै तय भयो भन्ने कुरा होइन ।’ माधव नेपाल निकट स्रोतका अनुसार भुसाल पार्टीमा आए सचिवालय सदस्य बनाउने तयारी छ । तर, आफूले राखेका प्रस्तावको जवाफको प्रतीक्षामा भुसाल रहेका छन् ।
मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए । नेता भुसाले एकीकृत समाजवादीको वाम एकता वार्ता समितिसमक्ष ‘ कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’ शीर्षकमा विभिन्न ५ वटा प्रस्ताव अघि सारेका छन् ।

Leave a Reply