पुस २८ – जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फरार रहेका अभियुक्तलाई ५ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले ५ वर्षपछि पक्राउ गरेका लमजुङको राइनास नगरपालिका ९ का ४२ वर्षीय बेलराम गुरुङलाई सार्वजनिक गर्दै प्रहरी ।
लमजुङको राइनास नगरपालिका ९ का ४२ वर्षीय बेलराम गुरुङलाई चितवनबाट पक्राउ गरिएको डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार प्रहरीले गुरुङलाई मंगलबार राति साँढे ९ बजेतिर पक्राउ गरेर बुधबार बेंसीसहर ल्याइपुर्याएका थिए । पक्राउ परेका गुरुङलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
गाउँकै ५४ वर्षीय हितमान श्रेष्ठलाई चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेपछि उनी फरार रहेका थिए । घटनापछि चितवनतर्फ लुकिछिपी बसेको हुन सक्ने भन्दै आएको सूचना संकलन गरी जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष अनुसन्धान प्रहरी टोलीले गुरुङलाई चितवनको भरतपुर महानगरपालिका १६ विजयनगरबाट पक्राउ गरेर ल्याएको डीएसपी श्रीमलले बताए ।
इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीले उनलाई बिहीबारबाट लागू हुने गरी ५ दिनका लागि जिल्ला अदालत लमजुङबाट म्याद थप अनुमति लिई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान थालिएको छ । मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य गरी मानिस मार्ने व्यक्तिलाई जन्मकैदको सजाय हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीले एक जना चौधरी थरका महिलालाई विवाह गरेर बसेको र आफ्नो नाम ढाँटेर आशमान गुरुङ भनी नाम‚ ठेगाना ढाँटेर बसेको अवस्थामा भेटिएको बताए । मृतक राइनास नगरपालिका १०, सिमघारीस्थित रत्न प्राविका पूर्वप्रधानाध्यापक हुन् ।
Leave a Reply