अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बन्यो पोखराको प्लेन दुर्घटना(भिडियोसहित)

अन्तराष्ट्रिय मिडियाको कस्तो कभरेज ?

 ग्लोवल टि.भी.      आइतवार, माघ १, २०७९      0

माघ १– पोखरामा भएको विमान दुर्घटना विश्वप्रख्यात अन्र्तराष्ट्रिय मिडियाको हेडलाइन बनेको छ । आइतबार नेपालको पोखरामा भएको यति एयरको विमान दुर्घटना अन्तराष्ट्रिय मिडियाको हेडलाइन बनेको हो ।

पोखरामा भएको यती एयर लाइन्सको विमान दुर्घटना विश्वका चर्चित मिडियाहरुको हेडलाइन बनेको छ । पोखराको सो दुर्घटना नेपाली मिडियाको मात्रै नभएर उच्च प्राथमिकताको साथ अन्तराष्ट्रिय मिडियाको समेत हेडलाइन बनेको हो । अन्तराष्ट्रिय मिडियाहरुले निकै चासो दिएर सो दुर्घटनालाई प्राथमिकताको साथ प्रकाशन गरिरहेका छन् । कतिपय अन्तराष्ट्रिय मिडियाहरुले नेपालमा विमान दुर्घटना हुनु सामान्य विषयको रुपमा लिएका छन् भने कतिपयले गम्भिरताको साथ हेरेका छन् । अन्तराष्ट्रिय मिडियाहरु बिबिसी, सिएनएनदेखि छिमेकी मुलुक भारतका मिडियासम्मको मुख्य समाचार पोखरामा भएको दुर्घटना बनेको छ । बीबीसी अनलाइनले मुख्य समाचार बनाउँदै लेखेको छ नेपालको पोखरा विमानस्थलमा जहाज अवतरण हुने क्रममा दुर्घटना भएको छ ।

जहाजमा ६८ नेपाली र १५ विदेशी भएको र १५ विदेशीमा पाँच भारतीय, चार रसियन र दुई कोरियाली भएको बीबीसीले उल्लेख गरेको छ । सेती नदी क्षेत्रमा नेपाली सेनाका २०० जवान खटिएको बीबीसीले लेखेको छ । साथै बिबीसीले नेपालमा विमान दुर्घटना हुनु सामान्य विषय रहेको समेत उल्लेख गरेको छ । अमेरिकी विश्व समाचार च्यानल सीएनएन र द टाइम्स अफ न्युर्योकले पनि नेपालको जहाज दुर्घटनाको समाचारलाई ‘ब्रेकिङ’ को रुपमा प्रकाशन गरेको छ । सीएनएनले लेखेको समाचारमा राइजिङ नेपालको समाचारलाई साभार गर्दै यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना भएको लेखेको छ । राजधानी काठमाडौंभन्दा १२९ किलोमिटर पश्चिम क्षेत्रमा जहाज दुर्घटना भएको सीएनएनले लेखेको छ ।

गत वर्षको मेमा तारा एयरको १४ हजार ५०० मिटर फिटमा दुर्घटना हुँदा २२ को मृत्यु भएको भन्दै सीएनएनले नेपालको यो दुर्घटना पछिल्लो दश वर्षमा भएको दशौं दुर्घटना भएको लेखेको छ । कतारको विश्व समाचार च्यानल अलजजिराले नेपालको दुर्घटना समाचारलाई प्रमुखताका साथ प्रकाशन गरेको छ । अलजजिराले प्रधानमन्त्री पुष्पकमल दाहालले आपतकालीन बैठक बोलाएको भन्दै नेपालमा योभन्दा अगाडि सन् २०१८ मा यूएस बङ्लाको जहाज दुर्घटनामा ४९ र गत मेमा भएको तारा एयरको दुर्घटनामा २२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । जर्मन विश्व च्यानल डचेभेलेले नेपालको हवाई दुर्घटनाको समाचार प्राथमिकतासाथ प्रकाशन गरेको छ ।

समाचारमा नेपालमा मौसम पूर्वानुमानको अत्याधुनिक पूर्वाधार नभएको तथा सेफ्टी स्टान्डर्ड पालना नहुने भन्दै जोखिम भएको लेख्दै युरोपेली आकाशमा नेपाली जहाज उड्न प्रतिबन्ध लगाइएको लेखेको छ । चीनको विश्व समाचार च्यानल सीजीटीएनले नेपालको हवाई दुर्घटनाको समाचार उत्तिकै प्राथमिकतामा राखेको छ । उचित तालिम र मर्मतसम्भारको अभावले नेपालको हवाई सुरक्षा कमजोर भएको सीजीटीएनले उल्लेख गरेको छ । रुसी विश्व च्यानल आरटीले नेपालको जहाज दुर्घटनाको समाचार प्राथमिकताका साथ प्रकाशन गरेको छ । भिडियो सामग्रीसहित प्रकाशन गरिएको समाचारमा नेपालका प्रधानमन्त्री दाहालले आपतकालीन बैठक बोलाएकोसमेत उल्लेख गरेको छ ।

यस्तै टर्कीको विश्व च्यानल टीआरटी वल्र्डले पनि नेपालको जहाज दुर्घटनाको समाचार प्राथमिकताका साथ प्रकाशन गरेको छ । सन् १९९२ मा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको जहाज दुर्घटनामा १६७ को ज्यान गएको, त्योभन्दा दुई महिना अगाडि थाई एयरको दुर्घटनामा ११३ को ज्यान गएको भन्दै टीआरटी वर्ल्डले सन् २०१८ मा भएको यूएस बंगला विमानको दुर्घटनामा पनि ५१ जनाको ज्यान गएको तथ्यांक प्रस्तुत गरेर नेपालमा जहाज दुर्घटना धेरै हुने लेखेको छ । यता छिमेकी मुलुुक भारतका प्रायजसो सबै मिडियाले प्राथमिकताका साथ समचार प्रकाशन गरेका छन् । भारतका टाइम्स अफ इन्डिया आज तक देखि जी न्युजसम्मका सबै मिडियाले प्राथमिकताका साथ समचार सम्प्रेशण गरेका छन् । विश्वका अन्य मिडियाहरु द इकोनोमिक टाइम्स द जापान टाइम्स लगायतका मिडिया देखि द प्रिन्ट, न्युज लाइभसम्मले ब्रेकिङ न्युज भन्दै उच्च प्राथमिकताको साथ प्रकाशन गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *