नेपालमा विमान दुर्घटनाको इतिहास, ९५ विमान दुर्घटना, ९ सय बढिको मृत्यु(भिडियोसहित)

 ग्लोवल टि.भी.      आइतवार, माघ १, २०७९      0

विनोद/नरेश- ७२ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यति एयरलाईन्सको विमान आज पोखरामा दुर्घटना भयो । काठमाडौंबाट पोखराका लागि आइतबार बिहान १० बजे उडेको विमान पुरानो विमानस्थल नजिकै सेती नदी खोंचमा दुर्घटना भएको थियो । नेपाली हवाई आकाश बारे बेलाबेलामा प्रश्न समेत उठाउने गरिएको छ । नेपालमा विमान दुर्घटनाको इतिहास कस्तो छ ?

नेपालको हवाईक्षेत्र असुरक्षित भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा निकायहरूले बेला–बेलामा प्रतिवेदनहरू सार्वजनिक गर्ने गरेका छन् । आइतबार विहान काठमाठाँैबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार थिए । ६८ यात्रुमध्ये ३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका थिए ।यो संगै नेपालमा ९५ विमान दुर्घटना भएका छन् भने ९ सय बढिले ज्यान गुमाएका छन् । नेपालमा विमान दुर्घटनाहरू कहिले र कसरी भएका थिए त ?

नेपाली आकाशमा सन् २००६ मा ताप्लेजुङमाश्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा २४ जनाले ज्यान गुमाएका थिए ।विक्रम सम्बत् २०१२ मा कालिंगा एयरको दुर्घटनामा दुई जनाको निधन भएको थियो । ०७५ साल जेठ २ गते मकालु एयरको कार्गाे विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको केही बेरमै दुर्घटनामा परेको थियो ।

२०७४ फागुन २८ गते नेपाली विमान इतिहासमा सबैभन्दा दुःखद दिनका रूपमा लेखिएको छ । बंगलादेशको ढाकाबाट नेपालका लागि आएको युएस बंगला ७ सय ३८ एयरक्राफ्ट विमान अवतरणका क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भयो । विमानमा चालक दलका चार सदस्यसहित ७१ जना यात्री सवार थिए । जसमध्ये केहीलाई घटनास्थलबाट जीवितै उद्धार गरिएपनि ५१ जना यात्रीको दुःखद निधन भएको थियो ।०७४ को जेठ १३ गते लुक्लामा गोमा एयरको कार्गाे विमान दुर्घटना हुँदा चालक पारसकुमार राईको ज्यान गयो भने १७ गते बाजुरामा सेनाको जहाज खस्दा पाइलट कौशल गुरुङसहित दुई जनाको निधन भयो ।

त्यस्तै वि.स. २०१३ जेठ १३ मा इन्डियन एयरलाइन्सको विमान दुर्घटनामा १४ जनाको निधन भएको थियो । वि.सं. २०४९ असोज १२ गते ललितपुरको भट्टेडाँडामा पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनामा ३६ जना नेपाली नागरिकसहित विमानमा सवार सबै १ सय ६७ जना यात्रीको निधन भएको थियो । वि.सं. २०४८ सालमा रसुवा जिल्लाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना हुँदा १ सय १३ जनाको मृत्यु भएको थियो । त्यस्तै २०६५ साल असोज २२ गते सोलुखुम्बु जिल्लाको लुक्लामा यति एयरलाइन्सको विमान दुर्घटना भयो । यसमा १८ जना यात्रीको मृत्यु भएको थियो । त्यसैगरी २०६७ भदौ ८ गते मकवानपुरको शिखरपुरस्थित तोरीबारीमा अग्नि एयरको विमान दुर्घटना हुँदा १४ जना यात्रीको निधन भयो । २०६७ कै मंसिर २९ गते ओखलढुङ्गामा तारा एयरको विमान दुर्घटना भयो । यसमा २२ जना यात्रीले ज्यान गुमाएका थिए । यस्तै विमान दुर्घटनाको श्रृंखला २०६८ असोज ८ गते पनि दोहोरियो । ललितपुरको कोटडाँडामा भएको यस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।

त्यस्तै २०६८ सालकै कात्तिक १ गते नेपालगन्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । २०६९ जेठ १ गते अग्नि एयरको विमान जोमसोममा दुर्घटना भयो । १५ जनाले यसमा ज्यान गुमाए । २०६९ असोज १२ गते सीता एयरको विमान काठमाडौं उपत्यकाभित्रै मनोहरा खोला किनारमा भएको थियो । जुन दुर्घटनामा१९ जनाको निधन भएको थियो । यस्तै २०७० फागुन ४ मा भएको नेपाल वायुसेवा निगमको विमान दुर्घटना भएको थियो । अर्घाखाँची जिल्लामा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । २०७२ फागुन १२ गते पनि विमान दुर्घटना भयो । तारा एयरको यो विमान पोखराबाट जोमसोमका लागि उडेको थियो । म्याग्दीमा दुर्घटना भएको यस विमानमा २३ जना यात्रीको निधन भएको थियो । सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । त्यस्तै गत जेठ १५ मा तारा एयरको विमान मुस्ताङमा दुर्घटना भएको थियो । जसमा २२ जनाले ज्यान गुमाएका थिए ।

नेपालको भौगोलिक अवस्थाका कारण धेरैजसो हवाई दुर्घटना हुने गरेका भए पनि पछिल्ला दिनमा यसको कारण खराब मौसम, विमान चरासँग ठोक्किनु तथा प्राविधिक कारण लगायतबाट एकपछि अर्काे दुर्घटना थपिने गरेको विभिन्न अध्ययनले देखाएको छ । नागरिक उड्ययन प्राधिकरणलको तथ्याङमा ९५ प्रतिशत दुर्घटना प्राविधिक कारण भनेर देखाइएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *