
माघ ९ – स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रूपैयाँ बढी आर्थिक भार पर्ने भएको छ।
बजारमा ४० देखि ५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद सम्झौता हुन लागेपछि राज्यलाई ११ करोड रूपैयाँ बढी आर्थिक भार पर्ने भएको हो। सरकारले आइरन चक्की खरिदका लागि २० करोड रूपैयाँ दिएको र सो रकममा सरकारले प्रतिगोटा ९० पैसाका दरले २१ करोड ५० लाख चक्की औषधि खरिद गर्न लागेको हो।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सो औषधि खरिद गर्न नोबाजियन भन्ने कम्पनीसँग सम्झौताको अन्तिम तयारी गरेको छ।
विभागको व्यवस्थापन महाशाखा अन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद गर्न लागेको दाबी गरे।
‘विभागले सबै प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद गर्न लागेको हो, विभागमा आएको प्रस्तावमध्ये सबैभन्दा कम दररेट प्रस्ताव गर्ने कम्पनीसँग सम्झौता गरेर खरिद गर्न लागेका हौं,’ उनले भने। सरकारले आइरन चक्की खरिदका लागि २० करोड रूपैयाँ बजेट छुट्ट्याएपछि असोज १४ गते विभागले टेन्डर आह्वान गरेको थियो।

Leave a Reply