माघ १६ – गुल्मीको मुसिकोट नगरपालिका ७ बामीनजिकै न्वारामा सञ्चालित गंगा होटेल सञ्चालक मृत फेला परेकी छिन् ।
बाग्लुङ बडिगाड गाउँपालिका २ स्थायी घर भई न्वारामा ३० वर्षदेखि होटेल सञ्चालक गर्दै आएकी ५८ वर्षीया गंगादेवी शेरचन मृत फेला परेकी हुन् ।
अविवाहित शेरचनले एक्लै खाजानास्तासहितको होटेल सञ्चालन गर्दै आएको मुसिकोट नगरपालिका– ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिए । उनका अनुसार शेरचन आफ्नै घरभित्र हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
होटलेको मूलगेट बन्द थियो । सहायक ढोका खोलेर हत्या भएको हुन सक्ने स्थानीयको भनाइ छ । आइतबार बिहान अबेरसम्म पनि होटेलको ढोका नखुलेपछि स्थानीयवासीले बामी प्रहरीचौकीमा खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटा र प्रहरी नायब उपरीक्षक माधवराज खरेलको टोलीले घटनास्थलको अवलेकन गरेको छ ।
भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएर घटनास्थलको अनुसन्धान र मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले बताए ।
हात खुट्टा बाँधिएको र शव घोप्टो परेकाे अवस्थामा भएकाले हत्याको आशंकामा कुकुर झिकाइएको रानाभाटले जानकारी दिए । ‘कुकुर र प्रहरी दुवैको कामअगाडि बढाएका छौँ । शवको प्रकृति हेर्दा हत्या भएको देखिन्छ,’ उनले भने ।
Leave a Reply