२५ फागुनमा राष्ट्रपति चुनाव हुने, १३ फागुनमा उम्मेदवारी दर्ता, को बन्ला राष्ट्रपति ?(भिडियोसहित)

 ग्लोबल टिभि      सोमवार, माघ १६, २०७९      0

विनोद/नरेश – निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगका अनुसार चैत ३ गते उपराष्ट्रपति चयनका लागि चुनाव हुनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ मा सकिदैछ । राष्ट्रपतिको चुनावको मिति घोषणा भएसंगै सत्तारुढ दल एमाले, माओवादी, रास्वपा र संसदको ठुलो दल नेपाली कांग्रेसले तयारी थालेका छन् ।

बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ मा सकिदैछ । त्यसको ठिक एक महिना अघि राष्ट्रपतिको निर्वाचन सम्पन्न गराउनुपर्ने संबैधानिक व्यवस्था समेत रहेको छ । त्यसैअनुसार आयोगले आगामी फागुन २५ लाई राष्ट्रपतिको चुनावको मिति तय गरेको छ । राष्ट्रपतिको कार्यकाल सकिन ४ दिन बाँकी हुँदा चुनाव हुन लागेको हो ।

फागुन २५ मा राष्ट्रपतिको चुनाव सम्पन्न भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ । राष्ट्रपतिको निर्वाचनका लागि १० फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, १० र ११ गते दाबी, बिरोध र उजुरी, ११ र १२ गते निवेदन तथा उजुरी उपर छानबिन गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ । आयोगले १२ फागुनमा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने, १३ गते मनोनयन पत्र दर्ता गर्ने, १३ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने, १४ गते उम्मेदवारको बिरुद्धमा उजुरी दिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने जनाएको छ । त्यस्तै १५ फागुनमा उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गते साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने २५ फागुनमा मतदान गर्ने आयोगले जनाएको छ ।

त्यस्तै उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुने आयोगले बताएको छ । उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता २७ फागुनमा दर्ता हुनेछ । २८ फागुनमा दावी विरोधको समय दिइएको छ र सोही दिन साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरेपनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुनेछ ।

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका मतदाता को ?
राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था संविधानको धारा ६२ मा गरिएको छ । उक्त धारामा गरिएको व्यवस्थाअनुसार राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरू मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानुनअनुसार फरक हुने व्यवस्था संविधानमा छ । संविधानको उक्त धाराको उपधारा २ मा कुनै प्रदेशसभाको निर्वाचन हुन नसकेको अवस्थामा पनि राष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि निर्वाचक मण्डल गठनमा बाधा नहुने व्यवस्था गरिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार मतभार निकाल्दा संघीय संसद्मा रहेका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसंख्यालाई भाग गर्दा आउने भागफल संघीय संसद्तर्फको मतभार हुनेछ । त्यस्तै प्रदेशसभातर्फका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसंख्यालाई भाग गर्दा आउने भागफल प्रदेशसभातर्फको मतभार हुनेछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *