नेपालमा घट्दै प्रजनन क्षमता, समस्याको रुपमा निःसन्तानपन

 ग्लोवल टि.भी.      सोमवार, चैत्र ३०, २०७७      0

विवाहपछि अधिकांशको सन्तान जन्माउने चाहना हुन्छ । तर सबै दम्पतीका लागि सन्तानको जन्म सामान्य हुँदैन । निकै प्रयासका बाबजुद पनि केही दम्पतीले सन्तानको सुख पाउन सकिरहेका हुँदैनन् ।

अहिले नेपालमा पनि निःसन्तानपन ठूलै समस्याका रुपमा छ । यो समस्या वर्षेनी बढ्दो देखिन्छ । सामान्यताः कुनै पनि दम्पतीले प्राकृतिक रुपमा एक वर्षसम्म सन्तानको प्रयास गर्दागर्दै पनि नभए त्यसलाई निःसन्तानपन भनिन्छ ।

उमेर जति बढ्दै गयो समस्या पनि बढ्दै जान्छ । कसैको ३८/४० वर्षमा विवाह भएको छ भने प्राकृतिक रुपमा हो भनेर एक वर्षसम्म कुरेको राम्रो हुँदैन । यद्यपि अन्य उमेर समूहका लागि प्रयास गरेको एक वर्षसम्म पनि सन्तान नभए चिकित्सकसँग परामर्श लिनुपर्छ ।

प्राकृतिक रुपमा गर्भवती हुन आधारभूत यी चारवटा कुरा सामान्य हुन आवश्यक छ । एक, श्रीमानको वीर्य, दोस्रो, श्रीमतीको पाठेघर स्वस्थ हुनुपर्छ । तेस्रो, महिलाको अन्डा उत्पादन गर्ने शक्ति राम्रो हुनुपर्छ र चौंथो, ट्युब खुलेको हुनुपर्छ ।

हामीले चारवटा कुरालाई आधार मानेर हेरेपछि मात्र समस्या के हो भनेर पत्ता लगाउन सक्छौं । महिलामा मधुमेह, थाइरोइड, रक्तचाप, महिनावारी गडबडी छ कि भनी हेर्छौ । पहिले सन्तान खेर गएको छ या सेतो पानी बग्ने समस्या छ कि भनेर पनि हेर्नुपर्छ ।

पुरुषमा पनि यौन समस्या भए÷नभएको, योनीमा चोटपटक लागेको, लागुपदार्थको प्रयोग गर्ने–नगर्ने दुवै हेर्न आवश्यक छ । विश्वभर निःसन्तानपनको समस्या ८ देखि १२ प्रतिशतमा देखिएको छ भने नेपालमा १५ देखि १८ प्रतिशत रहेको विभिन्न अध्ययनले देखाउँछ ।

निःसन्तानपनको समस्या हुनु मामहिला र पुरुष दुवै कारण हुन् । वैदेशिक रोजगारीमा जाने पुरुषमा निःसन्तानपनको समस्या बढी भेटिन्छ । पुरुषमा हुने निःसन्तानपनको समस्याका कारण विशेष गरी विर्यको कमी, उमेर, वंशाणुगत या अन्य कुनै रोग हुन सक्छ ।

महिलामा भने ट्युब ब्लक हुँदा, अन्डा बनाउने शक्ति एकदम कम या धेरै हुँदा अन्डा उत्पादनमा समस्या हुन्छ । पाठेघरमा ट्युमर भए या संक्रमण भए, वंशाणुगत कारण, हर्मोनको गडबडी, पटक पटकको गर्भपतन र पाठेघरमा घाउ हुँदा पनि निःसन्तानपनको समस्या देखिन सक्छ । तर, अहिले धेरैमा देखिने आम कारण भनेको महिलामा ट्युब ब्लक, अन्डा उत्पादनमा समस्या, पुरुषमा विर्यको कमी र ढिलो विवाह नै देखिन्छ ।

समय मै निदान नभए समस्या अनुसार उपचार पनि हुन्छ । यसको विशेष गरी दुई वटा उपचार हुन्छ । एक, आइयुआई र दोस्रो, आइभिएफ अर्थात टेस्टयुब बेबी । आइयुआई उपचारमा श्रीमान्को विर्य या डोनरस्पर्म महिलाको पाठेघरमा प्रोसेस गरेर हाल्ने प्रक्रियालाई इन्ट्रायुटाइनइन्सेमिनेसन अर्थात आइयुआई भनिन्छ । डोनरस्पर्म श्रीमानको विर्य नभएको अवस्थामा दम्पतीको अनुमति अनुसार मात्र राखिन्छ ।

आइभिएफ प्रक्रिया कृत्रिम तरिकाबाट हुन्छ । अन्डा बनाउने, अन्डा झिक्ने, श्रीमानको विर्य या डोनरको स्पर्म मिलाएर गर्भाधान गर्ने देखि लिएर श्रीमतीको पाठेघरमा हाल्ने सबै प्रक्रिया कृत्रिम तरिकाबाट हुन्छ । त्यसैले यसलाई टेस्टट्युब बेबी भनिएको हो । प्रजनन क्षमता हुने उमेरमै सन्तानको योजना बनाउनु राम्रो हुन्छ ।

३५ वर्ष पछि महिलाको अन्डा बनाउने शक्ति घट्दै जान्छ । आमाको पेटबाटै महिला सीमित अन्डा लिएर जन्मेका हुन्छन् । जीवनभर महिलाले नयाँ अन्डा बनाउँदैनन् । हरेकपटक महिनावारी हुँदा ती अन्डाखेर जान्छन् ।

४५ वर्ष पछि कृत्रिम तरिकाबाट सन्तान जन्माउन पनि गाह्रो नै हुन्छ । हुन त आइभिएफ ४५/५०उमेर सम्म पनि गर्न मिल्छ । तर छिटो योजना बनाए राम्रो हुन्छ । अहिले प्रजनन क्षमता घट्दै गएको छ ।

अस्वस्थकर खानपान तथा जीवनशैली, विभिन्न किटनाशक औषधिको प्रयोग, वातावरण प्रदूषण लगायतले पनि महिला र पुरुष दुवैमा प्रजनन क्षमता घट्दै गएको पाइन्छ । ३० वर्षको उमेरका महिलामा अन्डा बनाउने शक्ति १० वर्ष अघि ४० वर्षकी महिलामा तुलना ग¥यौँ भने कम पाउँछौ । त्यसैले २५ देखि ३५ वर्ष भित्र सन्तान जन्माएको राम्रो हुन्छ ।

निःसन्तानपनको समस्या आउन नदिन सही उमेरमा दम्पतीले सन्तानको योजना बनाउनु पर्छ । अध्ययन र करिअर भनेर यसलाई धेरै परसार्नु हुँदैन ।

स्वस्थकर खानपान र जीवनशैली अपनाउनु पर्छ । करिअर तथा अध्ययनको योजना बनाए जस्तै सन्तान जन्माउने पनि योजना बनाउनु पर्छ । प्राकृतिक रुपमा सन्तानको प्रयास गर्दा पनि नभए अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्छ ।

समस्या भएपनि अस्पताल ढिलो गए उपचार गरे पनि सफल हुने सम्भावना निकै कम हुन्छ । बाझोपन तब हुन्छ जब एक जोडीले नियमित असुरक्षित यौन सम्पर्क गरे पछि गर्भधारण गर्न सक्दैनन् । बाझोपन समस्या महिला,पुरुष वा दुवै जनामा वा अज्ञात समस्याको कारण हुन सक्छ्र ।

बाझोपन २ प्रकारको हुन्छ

१) primary infertility : जोडीहरु जो कम्तिमा १ वर्षसम्म गर्भधारण गर्नु भएन भने
२) secondary infertility : १ पटक गर्भवती हुने क्षमता भएको, तर अब असमर्थ छ भने

महिलामा बाझोपनको समस्या हुने कारणहरु :

१) उमेर
२) थाइरोइड रोग
३) मधुमेह
४) डिम्ब ग्रंथि अल्सर र पाँलीसिस्टिक अंडाशय सिंड्रोम
५) ट्यूब अवरोध
६) ओभुलेशन डिसअर्डर
७) गर्भाशय फाइब्राएडहरू
८) एन्डोमेट्रियोसिस
९) धुम्रपान/मध्यपन
१०) तौल
११) खान पिन
१२) यौन इतिहास
१३) हर्मोनल असन्तुलन
पुरुषमा बाझोपनको समस्या हुने कारणहरु ः
१) असामान्य शुक्राणु उत्पादन वा कार्य
२) कम शुक्राणु गणना
३) वातावरणीय कारण
४) नलिका /नलिका उल्टो असफलता
५) हर्मोन असन्तुलन
६) धुम्रपान/ मध्यपन
७) तौल
८) खानपिन
९) यौन इतिहास
१०) यौन संक्रमित सक्रमण, चोट, शल्यक्रिया

(डा. सुवाल गुरुङ, भेनस अस्पतालमा स्त्रीरोग तथा आइभिएफ, निःसन्तानपन विशेषज्ञका रुपमा कार्यरत छिन् ।)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *