माघ २० – नेपाल उद्योग परिसंघले नेपाल बैकर्स संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ। अध्यक्ष सुनिल केसीसहित संघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीको मनोबल खस्किएको बताए। उनले संघको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमतिका लागि धन्यवाद दिँदै कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गरे।
उनले मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले बिना प्रोभिजन ऋणको पुनःसंरचना, पुनः तालिकीकरण गरी सहयोग गर्नुपर्ने बताए। उनले उद्योगहरूको प्रबद्र्धन गर्न वेसरेटमा २ प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि आग्रह गरे। अध्यक्ष अग्रवालले चालुपुँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी व्यवसायीबीच बुझाइमा एकरूपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना तथा तत्काल सञ्चालन गर्न आग्रह गरे।
संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा कसरी अगाडि बढ्नुपर्ने भन्ने विषयमा जानकारी गराउनुभयो। उहाँले परिसंघले दिएको कतिपय सुझाव बैंक तथा संघले आफैं पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताए। उनले अहिले बैंकहरूको प्रमुख समस्याको रूपमा बढ्दो नियमसंगत नभएको कर्जा रहेको बताए। उनले ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न उद्योगी व्यवसायीहरूलाई समेत आग्रह गरे। संघका नवनिर्वाचित कार्यसमिति र परिसंघ सदस्यहरूबीच भएको अन्तरक्रियामा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, हेमराज ढकालसहित परिसंघ नेशनल काउन्सिल सदस्यहरू, नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, कार्यसमिति सदस्यहरू अजय विक्रम शाह, दिपककुमार र सल्लाहकार अशोक शमशेर राणालगायतको सहभागिता रहेको थियो।
Leave a Reply