यसकारण गठबन्धन संकटतर्फ, प्रचण्डमाथि चौतर्फी दबाब(भिडियोसहित)

 Global Television      शुक्रबार, माघ २०, २०७९      0

अमृत- सत्ता गठबन्धनमा किचलो शुरु भएका बेला आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक स्थगित भएको छ । गृहमन्त्री नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीले संकटमा पुगेका प्रधानमन्त्री प्रचण्डले आन्तरिक छलफल गर्नुपर्ने भएको कारण देखाउँदै बैठक नै स्थगित गरिदिएका हुन् ।

सत्ता साझेदार दलभित्र देखिएको असन्तुष्टिले गठबन्धन नै संकटोन्मुख भएका बेला बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटि बैठक शुक्रबार पनि स्थगित भएको छ । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बोलाउन सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको भएपनि प्रधानमन्त्री दाहालले अहिलेसम्म बैठक बोलाउने इच्छा देखाएका छैनन् । संयन्त्रको संयोजक रहेका एमाले अध्यक्ष केपी शर्मा ओली बिहिबार दिनभर गृहजिल्ला झापामै बसे । यता माओवादी केन्द्र भने अलमलमा देखिएको छ । अध्यक्ष ओलीले भने सत्ता गठबन्धनमा भागबण्डा गर्दा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेकाले उसैलाई गृहमन्त्रालय दिनुपर्ने बताइरहेका छन् ।

यता नेकपा माओवादी केन्द्रभित्र भने अधिकांश नेताहरु गृह मन्त्रालय अन्य दललाई दिन नहुने पक्षमा देखिएका छन् । वर्तमान सरकारका महत्वपुर्ण सबै मन्त्रालयहरु अन्य दलले लिएका कारण प्रधानमन्त्रीले काम गर्न समस्या आउने भएकाले गृह मन्त्रालय आफै राख्नुपर्ने सुझाव दिइरहेका छन् । माओवादी नेताहरुले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नभई उक्त पार्टीका सभापति रवि लामिछानेलाई दिइएका कारण अहिलेको परिस्थिती नै अलग भइसकेको बताउँछन् । माओवादी नेताहरुले रवि लामिछाने गैरसांसद भइसकेको र उनीविरुद्ध दोहोरो पासपोर्टका बारेमा समेत अनुसन्धान जारी रहेका कारण गृह मन्त्रालयजस्तो संवेदनशिल मन्त्रालय दिन नहुने जिकिर गरिरहेका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई २ दिनको समयसिमा दिएको छ । प्रधानमन्त्री दाहालले २ दिन पर्खन आग्रह गरेकाले समय दिइएको रास्वपाको दाबी छ । तर प्रधानमन्त्री दाहाल भने अब के गर्ने भन्नेमा अलमलमा देखिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *