स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन ९, २०७९      0

फागुन ९ –  नेपाली क्रिकेट टिमले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज प्रतियोगिताको विजेता स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।  नेपाल र स्कटल्यान्डबीच पछिल्लो पाँच एकदिवसीय क्रिकेटमा तीन खेल स्कटल्यान्डले जितेको छ भने दुई खेलमा नेपाल विजयी भएको छ ।

नेपालले काठमाडौंमा जारी शृंखलामा तीन खेल जितेको छ । यसअघि नै प्रतियोगितामा च्याम्पियन बनेको स्कटल्यान्डले दुई खेल जितेको छ ।

नेपालले स्कटल्यान्डलाई अघिल्लो खेलमा तीन विकेटले हराएको थियो । त्यस्तै घरेलु टोलीले नामिबियालाई पहिलो खेलमा दुई र तेस्रो खेलमा तीन विकेटले हराएको थियो । स्कटल्यान्डले नामिबियालाई पहिलो खेलमा १० विकेट र दोस्रो खेलमा ४३ रनले हराएको थियो ।

नेपालमा नामिबिया जितविहीन रह्यो । त्यसको फाइदा नेपाललाई र युनाइटेड अरब इमिरेट्स (युएई)लाई भएको छ । नेपाल र युएईको शीर्ष तीनमा रहेर एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगिता खेल्ने सम्भावना कायम रहेको छ ।

नेपालले आज स्कटल्यान्डसँगको खेलसहित ९ खेल खेल्न बाँकी छ भने युएईले १० खेल खेल्न बाँकी छ । नामिबियाले अब युएईसँग दुई खेल खेल्न बाँकी छ ।

नामिबियाले दुबै खेलमा युएईलाई हराएमा उसको ४१ अंक हुन्छ । नेपालले अब बाँकी सबै खेल जितेमा ४२ अंक हुन्छ ।  नेपाल शीर्ष तीनमा पर्नेछ । नेपालले बाँकी सबै खेल जितेन भने शीर्ष तीनको सम्भावना कठिन हुन सक्छ ।

नेपाल अहिले २७ खेलबाट २४ अंक जोडेर छैटौं स्थानमा छ । २६ खेलबाट २७ अंक जोडेको युएई पाँचौँ स्थानमा छ ।

सबै ३६ खेलबाट ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ । नामिबिया ३४ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा छ । ओमान सबै ३६ खेलबाट ४४ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ३५ खेलबाट ५० अंक जोडेर शीर्ष स्थानमा छ । ओमान र स्कटल्यान्डले एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् । २८ खेलबाट पाँच अंक जोडेको पपुवा न्युगिनी सातौँ स्थानमा छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा १८ जुनदेखी ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछ । बाँकी चार टिमले नामिबियामा २४ मार्चदेखी ४ अप्रिलसम्म हने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।

प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई टिम र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई टिम, क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिम, र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सुपर लिगको शीर्ष सात टिमले सिधै आईसीसी एकदिवसीय विश्वकपका स्थान बनाउनेछन् । आयोजक राष्ट्रका रुपमा भारतले पनि सिधै विश्वकपमा स्थान बनाउनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *