काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात चैते दशैं । कोरोना महामारीको दोस्रो लहरका बीच नवदर्गा भवानीकीको पूजा आराधना गरिदै मनाइँदै छ । चैते दशैँ पर्वका अवसरमा हिन्दुधर्मालम्बीहरुले घर घरमा दुर्गा भवानीको पूजाआराधना गरि यो पर्व मनाउने गर्छन् ।
चैते दशैंका अवसरमा काठमाडौंको हनुमानढोकाको दशैँघरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन छ ।
चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।विगत वर्षमा चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले पाँच जनाभन्दा बढी उपस्थित नहुन आदेश जारी गरेकाले दूरी कायम गरेर दर्शनको व्यवस्था गरिने जनाइएको छ ।
उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ ।
यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ ।
Leave a Reply