फागुन २७ – उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिनसम्म पनि गठबन्धनमा उम्मेदवारबारे सहमति हुन सकेको छैन। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुले आफ्नो आफ्नो दाबी गर्दा बैठक निस्कर्षबिहीन भएको छ। उपराष्ट्रपतिमा जसपाले महिला र पुरुष गरी दुई उम्मेदवार उठाउने र जनमत पार्टीले पनि उम्मेदवार उठाउने बताएका छन्।
जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तथा जनमत पार्टीबाट ममता झालाई उम्मेदवारी उठाउने तय भएको बताइएको छ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताए। आफ्नो पार्टीले पनि उनले उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने बताए।
उनले जनता समाजवादी पार्टी, नेपालले पनि दुई जनाको उम्मेदवारी गर्ने अवस्था देखिएको बताए।
उनले भने, ‘आज १० दलको बैठक थियो। उपराष्ट्रपतिको उम्मेदवारको बारेमा छलफल भयो। उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको छ। हामीले पनि महिला नै सकेसम्म उठाउनुपर्ने, त्यसमा रिस्क नलिने भन्नेकुरा भयो। किनभने त्यसमा निर्वाचन आयोगले जुन निर्णय गरेको छ। त्यसमा संविधानको धारा ३८ कोर्ट गरिएको छ। त्यो आधारमा जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्नेछ। आज जसपाले पनि सम्भवतः दर्ता गर्नेछ। भोलिसम्ममा निस्कर्ष निस्केर एउटा मात्रै उम्मेदवार कायम हुने देखिन्छ। गठबन्धनबाट ३ जना उम्मेदवार हुने सम्भावना देखिएको छ। जसपाबाट २ जना उम्मेदवार बनाउने अवस्था देखिएको छ।’
अध्यक्ष राउतले गठबन्धनबाट आज तीनजनाको उम्मेदवारी पर्ने अवस्था देखिए पनि आइतबारसम्म सर्वसम्मतिले एकजना मात्रै उम्मेदवारी हुने स्पष्ट पारे।
उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ ।
Leave a Reply