चैत ३ – वल्र्ड जायन्ट्सले लेजेन्ड्स क्रिकेट लिगमा नेपालका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सलाई २० रनले हराउँदै फाइनलमा पुगेको छ । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको एसिया १९.१ ओभरमा १ सय ३० रनमा अल आउट भयो ।
पारस १० बलमा ८ रन बनाउँदै रन आउट भए । आठौं नम्बरमा ब्याटिङ गरेका पारस १९ औं ओभरको पहिलो बलमा रन आउट हुन पुगेका थिए । एसियाका ओपनर तिलकरत्ने दिलशानले २८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । शाहिद अफ्रिदीले १८ बलमा ३ चौका र १ छक्कासहित २६ रन जोडे ।
थिसेरा परेरा १२ र मोहम्मद हफिजले १३ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । जायन्ट्सका टिनो बेस्टसले ३.१ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । क्रिस मफ्पु ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । ब्रेट ली र स्मित पटेलले एक एक विकेट लिए ।
त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जायन्ट्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । ओपनर हासिम आमलाले ५९ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए । ज्याकक्विस कालिसले ४३ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए । एसियाका मोहम्मद आमिर र सोहेल तनविरले एक एक विकेट लिए ।
जायन्ट्स ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो । एसिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । भारत ४ खेलमा १ मा जित ३ मा हारसहित पुछारमा रह्यो । फाइनल प्रवेशका लागि एसिया र भारतबीच शनिबार प्रतिस्पर्धा हुनेछ । आगमी सोमबार फाइनल हुनेछ ।
Leave a Reply