चैत ४ – फ्रान्समा पेन्सन प्रणाली सुधार विधेयकको विरोधमा हजारौँ नागरिक विरोधमा उत्रिएका छन्। यसअघि सुधार योजनाको विरोध गरिरहेका नागरिकले सरकारले विशेष अधिकार प्रयोग गर्दै विधेयक पास गरेपछि पेरिसका सडकमा पुनः विरोध भएको हो।
नयाँ योजनाअनुसार कर्मचारीको अवकाशको उमेर ६२ बाट बढाएर ६४ पुर्याइएको छ । यस्तै यसअघि पूर्ण पेन्सनका लागि ४२ वर्ष सेवा अवधि रहेकोमा यो अवधि एक वर्ष थपेर ४३ वर्ष पुर्याइएको छ। फ्रान्सको राष्ट्रिय सभामा प्रधानमन्त्री एलिजाबेथ बोर्नले संवैधानिक अधिकार प्रयोग गर्दै मतदानविनै यस्तो व्यवस्था भएको विधेयक पास गराएका हुन्।
संविधानको धारा ४९ को उपधारा ३ प्रयोग गरी अल्पमतमै विधेयक पारित गरेपछि विपक्षी दलसहित कयौँ कर्मचारी सडकमा उत्रिएका छन् । सरकारको जबरजस्तीपछि विपक्षी नेता मरिन ले पेनले राष्ट्रपति इमानुएल म्याक्रोँविरुद्ध अविश्वासको मत दर्ता गराएका छन्। पेन्सन सुधारसम्बन्धी विधेयक पास भएपछि त्यहाँका विभिन्न कर्मचारी संगठनले थप विरोध तथा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
नयाँ विधेयकअनुसार सन् २०२७ पछि अब पूरै पेन्सन सुविधा लिन कर्मचारीले ४३ वर्ष सेवा गर्नुपर्ने छ भने अवकाशको ६४ पुर्याइएको छ। युरोपका अन्य देशमा पनि अवकासको उमेर ६० भन्दा माथि छ। इटली र जर्मनीमा ६७, स्पेनमा ६५ तथा बेलायतमा ६६ वर्षमा अवकाश लिन पाइन्छ।
Leave a Reply