सभामुखको अभिव्यक्ति आधारहीन र आपत्तिजनक: पत्रकार महासंघ

 ग्लोबल टिभि      शनिबार, चैत्र ४, २०७९      0

चैत ४– नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको छ ।

संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले शुक्रबार सभामुख घिमिरेसँग भेट गरेको थियो । त्यसक्रममा घिमिरेले दिएको अभिव्यक्तिले सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघले बताएको छ ।

सार्वभौम संसदको मूल नेतृत्वको पदीय हैसियत र मर्यादाविपरीत भएको भन्दै महासंघका महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन्, ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।’

शुक्रबार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको र पित पत्रकारिता भइरहेको अभिव्यक्ति दिएका थिए ।

नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला जिम्मेवार व्यक्तिले समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति दिँदा यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्ने महासंघको भनाइ छ ।

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो । तर, सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक सभामुखको आधिकारिक धारणा आउन नसकेको महासंघले जनाएको छ ।

‘महासंघ जन निर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिवद्ध भएको व्यवहारमा देख्न चाहन्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्धता जनाउन सभामुख समक्ष आग्रह गर्दछ’ महासचिव पुरीले विज्ञप्तिमा भनेका छन् ।

सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा कानूनीलगायतका अन्य दबावमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

सभामुखले के भनेका थिए, हेर्नुहोस् सभामुखको भनाइको अंश:

पत्रकारहरु जति जिम्मेदारीसाथ पत्रकारिता गर्नुपर्थ्यो, यसलाई अन्यथा नलिनुहोला ‘ त्यो खालको छैन, पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे जे कारणले भने पनि तिनीहरु प्रभावित छन् । अझ अर्को भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु ।

अब पत्रकारहरु बिक्रीमा छन्, संघ बिक्रीमा छ भन्यो सभामुखले भनेर मैले यसलाई रोकिरहनुपर्दैन र त्यो भन्नु पनि हुँदैन तपाईंहरुले । किनकी यो त हाम्रो भित्री कुरा हो नि । ‍‍‍‘ बिग हाउसहरुले प्रभावित पारेको छ । थर्काएर गरेको छ, किनेर गरेको छ, फकाएर गरेको छ । अनेक ढंगले प्रभावित गरेको छ । त्यसको प्रभाव हाम्रो समाजमा निकै परेको छ ।

यसबाट मुक्त भएर पत्रकारिता र सरकारका बीचमा कसरी सम्बन्ध बनाएर लाने होला? चाहे ऐन ल्याउने सन्दर्भमा होस् वा कार्यान्वयन गर्दा विनियमहरु बनाउने वा नियमावली बनाउने वा नियमावली कार्यान्वयन गर्ने सन्दर्भमा यी जस्ता समस्या कसरी हल गर्ने? यो समस्या हो । यो समस्या समाधान तपाई हाम्रो कर्तव्य हो जस्तो मलाई लाग्छ ।

यसलाई हामीले हल गरेर गयौं भने, मैले अलि बढी देखेर, अलि पूर्वाग्रही भएर तर्पाहरुलाई अभिव्यक्ति गरेको रहेछु भने म करेक्सन हुन जरुरी छ । होइन त्यस्तो छ भने पत्रकारहरुले पनि आफूलाई कसरी लाने त? यो प्रभावबाट कसरी मुक्त हुने त या के हो त अन्तरविरोध भन्न जरुरी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *