चैत १७ – चिसो मौसम सकिएर गर्मी मौसम शुरु भएसँगै पुनः डेंगु संक्रमित देखिन थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले फागुन अन्तिम सातायता देशभर ३ सयजना डेंगु संक्रमित भेटिएको बताए।
गत साउनमा शुरुमा ललितपुरमा डेंगु संक्रमित धेरै भेटिए पनि फागुनयता ललितपुरबाट डेंगुका संक्रमित निकै कम रिपोट भएको उनले बताए। ‘गर्मी शुरु भएसँगै डेंगु संक्रमितको प्रतिवेदन राख्न थालिएको छ। फागुनयता देशभर ३ सयजनामा संक्रमण देखिसकेको छ’‚ डा. दाहालले भने।
यो अवधिमा सबैभन्दा धेरै संक्रमित दार्चुलामा भेटिएको उनले बताए। ‘फागुनयता सबैभन्दा धेरै दार्चुलामा ४० जना डेंगुका संक्रमित भेटिएका छन् भने बाँकी काठमाडौं‚ भक्तपुर र देशभरका अन्य जिल्लाका ४२ स्थानीय तह रहेका छन्’‚ दाहालले भने।
डेंगुका संक्रमित पुनः देखिन थालेपछि सबै प्रदेश तथा सबै स्थानीय तहका स्वास्थ्य प्रमुखहरूलाई सावधानी अपनाउन आग्रह गरिएको समेत उनले बताए।
‘गत साउनदेखि कात्तिकसम्म हाम्रोमा यो वर्ष डेंगु धेरै देखियो। अहिले पनि संक्रमण देखिन शुरु भइसकेको अवस्थामा संक्रमण नियन्त्रण गर्न वेलैमा योजना बनाउन प्रदेश सरकारदेखि सबै स्थानीय तहका स्वास्थ्य प्रमुखहरूसँग छलफल गरिसेका छौँ। शुरुमै सावधानी अपनाएर संक्रमण बढ्न नदिने रणनिति छ’‚ डा. दाहालले भने।
यो वर्षको साउनदेखि गत कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण तीव्र फैलिएको थियो। यो अवधिमा ५४ हजार ७८४ जनामा डेंगु संक्रमण भएको थियो भने डेंगुकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।
पुनः डेंगु संक्रमण देखिन थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित रहन आग्रह गरेको छ। मन्त्रालयले पूरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न, घर कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह गरेको छ।
यसका साथै घरवरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझबिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ।
Leave a Reply