सभामुखको अधिकार कटौती गर्ने प्रस्तावबाट पछि हटे सत्तारुढ सांसद

 ग्लोबल टिभि      आइतवार, चैत्र १९, २०७९      0

चैत १९ –  प्रतिनिधि सभाका सभामुखको तजबिजको अधिकार सङ्कुचन गर्न प्रस्ताव गरेका सत्तारुढ दलका सांसद पछि हटेका छन् ।

गत चैत ६ गते सभामा प्रस्तुत भएको र प्रतिनिधि सभाले बनाउन लागेको ‘प्रतिनिधि सभा नियमावली’ मस्यौदामाथि सत्ता पक्ष सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्दै सभामुखको अधिकार सङ्कुचित गर्ने मनसाय प्रस्तुत गरेका थिए ।

शनिबार सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र संशोधन दर्ता गर्ने सांसदहरुबीच छलफल भएको थियो । त्यो छलफलमा सभामुखले सबैको साझा भएर काम गर्ने प्रतिबद्धता जनाएपछि सभामुखले बैठकको मिति तोक्ने, सभाको अन्त्य गर्ने जस्ता तजबिजका आधिकार कार्य व्यवस्था परामर्श समितिले निर्धारण गर्ने भन्ने संशोधन दर्ता गराएका सांसदहरूले सो संशोधन फिर्ता लिन सहमति जनाएका हुन् ।

उनले भने–‘सभामुखको अधिकार न सङ्कुचन गर्ने कुरा थियो न पछि हटेको हो । हामीले सभामुखलाई तथस्त र निष्पक्ष सभामुख देख्न चाहन्थ्यौँ, कुनै पक्ष विपक्षको हैन । दायाँ बायाँको हैन छाया कहीँको नदेखिने एउटा सभामुख देख्न चाहन्छौँ । उहाँले त्यो प्रतिबद्धता जाहेर गर्नुभएको छ, त्यो प्रतिबद्धता जाहेर गरेपछि नियमावलीमा नलेखे पनि सभामुखले रुलिङ गर्दा त्यो कानुन बन्छ । त्यसैले त्यो अधारलाई हेरेर सभामुख ठिक ठाउँमा उभिनुहुन्छ भने हाम्रो चाहना उहाँलाई नियन्त्रण गर्ने हैन । उहाँले सबैको सभामुख भएर काम गर्ने प्रतिबद्धता जनाएपछि समस्या नै भएन ।’

गत चैत ८ गते संशोधन प्रस्ताव पेस गर्दै माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोध, रुपा सोसी चौधरी, नारायणी शर्माले मस्यौदाको प्रस्तावित नियम १३ मा उपनियम ४ थप गर्दै त्यसमा ‘कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार यस नियमावलीमा उल्लेख भए बमोजिम सभामुखले सभालाई व्यवस्थित रूपले अघि बढाउने काम गर्नु हुनेछ’ भन्ने कुरा थप गर्न प्रस्ताव गरेका थिए ।

यस्तै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा, राजेन्द्र कुमार केसी र सञ्जय कुमार गौतमले पनि प्रस्तावित नियम १३ मा उपनियम ४ थप्न आग्रह गर्दै त्यसमा–‘यस नियमावलीमा सभामुखले गर्ने भनी उल्लेख गरिएका कार्य सभामुखले कार्य व्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ’ भन्ने कुरा थप्न संशोधन प्रस्ताव दर्ता गरेका थिए ।

आफ्नो तजबिजको अधिकार कटौतीको प्रस्ताव परेपछि सभामुख घिमिरेले यसबारे प्रधानमन्त्री प्रचण्डसँगपनि छलफल गरेका थिए । आज बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदा पारित गर्ने तयारी गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *