लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ: कोरियाली पूर्वमन्त्री

 ग्लोबल टिभि      सोमवार, चैत्र २७, २०७९      0

चैत २७ –  नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्र्याउन सकिने बताएका छन्।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा उनले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्र्याएर विकासमा फड्को मार्न सक्नेमा विश्वास व्यक्त गरे। कोरिया सरकारका आर्थिक योजना विभाग लगायत विभिन्न निकायमा झण्डै चार दशक काम गरेका पूर्वमन्त्री लीले कुनै पनि देश विकासका लागि नेतृत्व बलियो हुनुपर्नेमा जोड दिए। उनले दक्षिण कोरियाले सही नेतृत्वका कारण विकसित राष्ट्र बन्न सकेको बताए।

उनले भने, ‘नेपालमा कैयन सम्भावना छन्, यी सम्भावनलाई अवसरका रूपमा लिन सके नेपालले पनि विकासमा छलाङ मार्न सक्छ। नेपालमा लगानीमैत्री वातावरण बनेमा विश्वबाट लगानी र प्रविधि ल्याउन समन्वय गर्छौ।’

हाल कोरिया-एसिया इकोनमिक कोअपरेसन एशोसियसनका अध्यक्ष समेत रहेका लीले आफ्नो देशले पनि पहिले वैदेशिक सहायता, प्रविधि र लगानी भित्र्याएर विकास गरेको  सम्झे। विकासका लागि पूर्वाधार, यातायात र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले सीमित स्रोतलाई परियोजना लक्षित लगानीमा जोड दिनुपर्नेमा जोड दिए।

साताव्यापी नेपाल भ्रमणमा आएका लीले अर्थमन्त्री, लगानी वोर्डका पदाधिकारी लगायत उच्च सरकारी अधिकारीहरूसँग भेट गरी लगानीका सम्भावनाबारे भेटवार्ता गरेका थिए।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले पूर्वमन्त्री लीको नेपालप्रतिको सद्भावका लागि धन्यवाद दिंदै नेपालले ली जस्तै लगानीकर्तालाई लगानीका लागि आह्वान गरे। उनले सन् १९५५ ताका नेपालले कोरियालाई खाद्यान्न लगायत सहयोग गरेको विषय सम्झिंदै नेपाल विगतमा कमजोर नभए पनि पछिल्ला केही दशकमा राजनीतिक अस्थिरताले आर्थिक र विकासमा पछि परेको धारणा राखे।

उपाध्यक्ष श्रेष्ठले आयोग साह्रौं पञ्चवर्षीय योजना निर्माणमा जुटिरहेको परिप्रेक्षमा परिणाममुखी आयोजनामा ध्यान दिने बताए।

गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष विनोद कुँवरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकसित राष्ट्रले अवलम्वन गरेका विकासको नमूनालाई नेपालमा पनि भित्र्याएर छिट्टै विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे।

सो अवसरमा संघका पूर्वउपाध्यक्ष सोनाम लामा, महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, दीपेश खत्री, रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल र लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याल लगायतले नेपाललाई मोनोरेल, साना किसिमका शहरी रेलका माध्यमबाट पर्यटन र जल तथा नवीकरणीय ऊर्जाका माध्यमबाट विकास गर्न सकिने धारणा राखेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *