भेरी अस्पतालमा कोरोना संक्रमितको पीडा : न बेड, न उपचार

 ग्लोबल टिभि      सोमवार, बैशाख १३, २०७८      0

दाङ तुलसीपुरका सन्तोष वली र उनकी पत्नीलाई १२ दिनअघि कोरोना संक्रमण भयो । आफूसँगै संक्रमित श्रीमतीको उपचारका लागि उनी भेरी अस्पतालमा दौडधूप गरिरहेका भेटिन्छन् ।

सन्तोष दम्पतीले केही दिन अघिमात्रै कोरोना संक्रमणकै कारण छोरी गुमाए । स्टाफ नर्स छोरी छोरी दाङमा कार्यरत रहँदा संक्रमित भएकी थिइन् । उपचारकै क्रममा उनको मृत्यु भयो । यस्तो पीडाबीच आफू र श्रीमतीको राम्रो उपचार गराउन नसकेकोमा उनी चिन्तित छन् ।

भेरी अस्पतालमा सन्तोष र उनकी पत्नीजस्ता धेरै कोरोना संक्रमित छट्पटाइरहेका देखिन्छन् । भेरी अस्पतालको ‘कोरोना बेड’ भरिएपछि स्थिति नियन्त्रण बाहिर गएको छ । कोभिडका लागि छुट्याइएको १४२ बेड भरिए पनि संक्रमित अस्पतालमा भर्ना हुन आउने क्रम जारी छ ।

कोभिडका बिरामी आइरहे पनि मुकदर्शक भएर बस्नुको विकल्प नभएको चिकित्सक बताउँछन् । आइसोलेसन अभावका कारण संक्रमित उपचारबाट वञ्चित छन् । अस्पतालमा जटिल अवस्थाका बिरामी थपिने क्रम बढ्दो छ ।

अस्पतालका फिजिसियन डाक्टर संकेत रिसाल पनि भर्ना भएका बिरामी डिस्चार्ज भएपछि मात्रै अर्को संक्रमितले बेड पाउने अवस्था रहेको बताउँछन् । हाल जिल्लाभर एक हजार २६६ सक्रिय संक्रमित छन् ।

अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइटहाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् । भेरी अस्पतालले कोरोनाको संक्रमण फैलिने क्रम नरोकिए समग्र स्वास्थ्य प्रणाली नै फेल हुनसक्ने बताइरहेको छ ।

दैनिक १०० भन्दा बढी बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जनाको मृत्यु भएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *